काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्रालयलाई रुलिङ गरेका छन्।
आइतवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका हुन्।
उनले भने, ‘अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु। सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु।’
उनले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको बताए।
उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै बनाएको भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए।
आइतवारको बैठकमा सांसदहरुले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए।