महेश रिजाल, भालुबाङ (दाङ) ।
दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङस्थित श्री राप्ती सामुदायिक वन उपभोक्ता समूहको २०५० सालमा निर्मित कार्यालय भवनको हालै जीर्णोद्धार गरिएको छ ।
उक्त भवनको निर्माण तत्कालीन राप्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष स्मृतिशेष कुशलसिंह पुनको नतृत्वमा रहेको समितिले गरेको थियो ।
सो भवनमा सभाहल–१, बैठक कक्ष–१, गोदाम कक्ष–१ र अध्यक्ष कोठा–१ गरी जम्मा चारओटा कोठा रहेका छन् । अत्यन्तै जीर्ण अवस्थामा रहेको सो भवनको तीनओटा पक्का पिलर जडान, जग मरम्मत, सिलिङ मरममत, छत ढलान मरम्मत तथा रङरोग गर्ने कार्य हालै सम्पन्न भएको छ ।
भवन मरम्मतका लागि समाजसेवीहरू कृष्णप्रसाद सुवेदी, दिल्ली सुवेदी, रञ्जु भुसाल, डुकुमन रोका, देवबहादुर केसी, वसन्त जिसी, कर्णबहादुर केसीसमेतको सहयोगदाताको सहयोग र समूहको लगानीमा रु पाँच लाखमा जीर्णोद्धार गरिएको सचिव कमला केसीले जानकारी दिनुभयो ।
भवनको साइनबोर्ड लेखनमा सशस्त्र प्रहरी बल २९ नं. ज्वालामाई गण भालुबाङका स्टाफहरूले निःशुल्क लेखन गरिदिएको समूहका अध्यक्ष कर्णबहादुर केसीले जानकारी दिनुभयो ।