लक्ष्मणदेव पाण्डे (अधिवक्ता)
बिहानको झिसमिसेसँगै चराहरुका भेला चल्दैछ
मानिसहरुको होहल्ला,गाडीको आवाज बन्दछ
चराहरुको चासो,केही दिनदेखि शहर किन सुनसानछ?
हामीलाई समेत आतंकित पार्ने शहर मानव के गर्दैछ?
बिहानीको शुरुवातसँगैका आडम्बरी कार्य रोकिएका छन्
भ्रष्ट नेताका श्रीमतीको चिच्याउँदै कामदार हकार्ने आवाज हराएको छ
भ्रष्ट कर्मचारीका श्रीमतीको छतबाट छिमेकी अपमान गर्ने दम्भ रोकिएको छ
कालाबजारी गर्ने व्यापारीका श्रीमतीले छिमेकीलाई दिने उपदेश रोकिएको छ
यो सबै किन यस्तो भईरहेकोछ आज हामी जान्नैपर्छ
एकपटक हामी सबै मिली शहर मानवलाई सोध्नैपर्छ
यो बेला हामी चराहरुले के सहयोग गर्ने गर्नै पर्छ
समय सधै एउटै हुँदैन सधैभरी अनुशासित बन भन्नैपर्छ
मानिसले मानिसलाई मानव व्यवहार नगर्नेहरु
सञ्चै हुनुहन्छ भन्दा,घरको तल्ला सात पुरयाउनुछ भन्नेहरु
चिया खानुभो भन्दा,आज दश तोला सुन किन्नुछ भन्नेहरु
खाना खानुभो भन्दा कुकुरलाई मासु किन्नुछ भन्नेहरु
घर भाडामा दिने अनि भाडामा बस्नेलाई दुर्व्यवहार गर्नेहरु
भाडामा बस्नेहरुलाई मानवीय व्यवहार सम्म नगर्नेहरु
तपाईं आडम्बरीहरुको व्यवहार फेरियो कि ? के छ कुन्नी?
हामी चराहरुको भेलाले चासो राखिरहेछ जान्नी
शहर मानवलाई कोरोना महामारीले तर्साईरहेको रहेछ
श्रम नगर्ने र श्रम गर्ने दुबैथरी आज लकडाउनमा रहेछ
श्रम गर्नेलाई श्रम गरि परिवार पाल्न नपाएको चिन्ता रहेछ
श्रम शोषण गर्नेलाई श्रम शोषण गर्न नपाएको चिन्ता रहेछ
आज हामी आडम्बरी शहर मानवलाई सन्देश दिन चाहान्छौ
तिम्रा सबै आडम्बर छाड,मानवलाई मानव व्यवहार सधै गर
विश्व महामारीले सिकाएको छ सधैभरी अनुशासित बन
सुख ,दुःख मानव जातिलाई नै हो सबै मानवहरु जन ।