मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर बिहीबार तीनजना मजदुरको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए ।
पुरिएकामध्ये कावासोती नगरपालिका–५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र चमेली दर्लामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।
पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ पौडेलले जानकारी दिए ।
बेपत्ता भएकी कावासोती नगरपालिका–५ बस्ने ३२ वर्षीया चमेली दर्लामीको माटोले पुरिएको अवस्थामा साँझ शव फेला परेको थियो ।