काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाँदैछन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीको शपथ समारोह जुन ९ तारिख (आइतबार) साँझ ६ बजेका लागि तय भएको छ । यसअघि जुन ८ शनिबार शपथ खाने खबर सार्वजनिक भएको थियो।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेसँगै उनी मोदीको शपथग्रहणमा सहभागी हुने निश्चित भएको हो। प्रधानमन्त्री प्रचण्डले शनिबारदेखि दुई दिन भारत भ्रमण गर्ने सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
प्रधानमन्त्रीको भारत भ्रमण तय गरेकै मन्त्रिपरिषद बैठकले भने भारतसहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।
सरकारले भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य, स्पेनका लागि शर्मिला पराजुली ढकाल, डेनमार्कका लागि राम राय, अमेरिकाका लागि प्रा। श्रीधर खत्री, इजरायलका लागि कान्ता रिजाल, दक्षिण कोरियाका लागि प्राडा ज्योति प्याकुरेल (भण्डारी), साउदीका लागि नवराज सुवेदी, कतारका लागि नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाएको हो।
सन् २०१४ मा मोदीले शपथ लिँदा आयोजित विशेष समारोहमा तात्कालिक प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।