काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।
बिहीबार (२४ जेठमा) बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दएि ।
ती मन्त्रीका अनुसार भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य, स्पेनका लागि शर्मिला पराजुली ढकाल, डेनमार्कका लागि राम राय, अमेरिकाका लागि प्रा. श्रीधर खत्री, इजरायलका लागि कान्ता रिजाल, दक्षिण कोरियाका लागि प्राडा ज्योति प्याकुरेल (भण्डारी), साउदीका लागि नवराज सुवेदी, कतारका लागि नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाएको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
१) प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने।
२) लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
३) हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने।
४) औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने।
५) मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने।
६) अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने।
७) जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १) बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने।
८) जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने।
९) ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।
१०) भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी एघार जना राजदूतलाई फिर्ता बोलाउने।