तौलिहवा । प्रगतिशील पत्रकार सङ्घको कपिलवस्तु जिल्ला समितिले नेपाल पत्रकार महासङ्घको जिल्ला कार्यालयमा ताल्चा लगाएको छ ।
महासङ्घको शुद्धीकरण अभियानमा प्रगतिशीलका क्रियाशील पत्रकारलाई आस्थाका आधारमा विस्थापन गरिएको भन्दै २०८१ जेठ २३ गते बुधबार तौलिहवास्थित जिल्ला कार्यालयमा ताल्चा लगाइएको हो ।
प्रगतिशीलका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्ष मोहन बेलबासे, केन्द्रीय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष माधव भाटक्षेत्री र केन्द्रीय सल्लाहकार शशि सापकोटा नेतृत्वको टोलीले ताल्चा लगाउँदै प्रेसविज्ञप्ति टाँस गरेको छ ।

प्रेसविज्ञप्तिमा महासङ्घको सदस्यता शुद्धीकरणमा गरिएको प्रपञ्चप्रति सचेत गराउन ताल्चा लगाइएको बताइएको छ ।
विभेदपूर्ण मतदाता नामावली नसच्चिएसम्म तालाबन्दी अनिश्चितकालसम्म यथावत् रहने उक्त विज्ञप्तिमा उल्लेख छ ।
प्रगतिशीलको नेतृत्वमा संयुक्त तालाबन्दी
प्रगतिशील कपिलवस्तुले तालाबन्दी गरेलगत्तै अरू तीन पत्रकार सङ्गठनले पनि महासङ्घको जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । सो अवसरमा उनीहरूले संयुक्त प्रेसविज्ञप्ति सार्वजनिक गरेका छन् ।

“कपिलवस्तु जिल्लामा शुद्धीकरणको नाममा श्रमजीवी पत्रकार, क्रियाशील पत्रकार, मिसन पत्रकारिता र संस्था स्थापनामै योगदान पुर्याएकाहरूलाई बेवास्ता गर्दै क्रियाशील श्रमजीवी पत्रकारको नाम छुटाउने, एकै प्रकृतिका व्यक्तिलाई दोहोरो मापदण्डअनुसार सदस्यता सिफारिस गर्ने र छुटाउने तथा केन्द्रले विभिन्न समस्यमा जारी गरेका सदस्यता नामावली सूचीमा आफूअनुकूल सदस्य थप्ने कार्य गरेको देखिएकाले सो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपाल प्रेस युनियन कपिलस्तुका अध्यक्ष खगप्रसाद चापागाईं, प्रगतिशील पत्रकार सङ्घ कपिलवस्तुका अध्यक्ष मोहन बेलबासे, प्रेस मञ्च कपिलवस्तुका अध्यक्ष तुलसीराम यादव र मधेसी पत्रकार समाज कपिलवस्तुका अधयक्ष रमेशकुमार मिश्रको हस्ताक्षर रहेको छ ।

