काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् ।
शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबा ऋण लिएको कुरा प्रमाणित गर्न चुनौति दिएका हुन् ।
उनले गगन थापाले भनेजस्तै प्रमाण पेश गर्न सकेमा आफूले राजनीति छोड्ने दाबी गरे । उनले प्रमाण दिन नसकेमा गगन थापालाई राजनीति छाड्न चुनौती दिए ।
‘मैले कुनै ऋण माग्नका लागि मैले निवेदन दिएर ऋण मागेको प्रमाण छ उहाँले भन्नुभएको छ नि, त्यो प्रमाण उहाँले दिनुभयो भने म राजनीति छोड्दिन्छु । त्यो प्रमाण दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ’ उनले भने, ‘उहाँले त्यो शर्त मानिदिनु प¥यो । दुई जनाको राजनीतिलाई दाउमा लगाऔँ आज । नेपाली जनताको अदालतमा उभिऔँ ।’
गृहमन्त्री लामिछानेले आफ्नो कुरा संसदबाट सुन्न कांग्रेस डराएको बताए ।
यता, नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गृहमन्त्री रवि लामिछानेले आफूलाई दिएको चुनौती स्वीकार गरेको बताएका छन् ।
सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले प्रमाण पेश गर्न नसके आफू राजनीति छाड्न तयार रहेको बताए । उनले आफूहरुसँग भएको तथ्य, प्रमाणले आफूहरुले बोलेको कुरा प्रमाणित गर्ने दाबी गरे ।
उनले भने, ‘चुनौती त मैले स्वीकार गरिहालेँ । त्यहाँ तथ्य, प्रमाण पुष्टि भएन भने सिंगो नेपाली कांग्रेस पार्टीलाई त्यसले कति क्षति पुर्याउला ? कत्रो ठूलो लज्जाको विषय होला ? कत्रो ठूलो विश्वसनीयताको प्रश्न आउला ? सिंगो नेपाली कांग्रेस पार्टी नै यो कुरा यसरी भनिरहेको छ भने यो चुनौतीको हाँक स्वीकार नगर्ने भन्ने त कुरै भएन ।’
महामन्त्री थापाले एमालेले भनेजस्तो आफूहरुले समिति बनाउनासाथ गृहमन्त्रीको राजीनामा नमाग्ने स्पष्ट पारे । उनले संसदीय छानविन समिति बनाएर छानविन गर्न गृहमन्त्री तयार हुनुपर्ने बताए ।