काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल तीन टुक्रा भएको हो ।
अशोक राईको नेतृत्वमा नयाँ दल बनेको केही दिनमै प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर लावतीको नेतृत्वमा मोर्चा घोषणा गरिएको हो । मोर्चामा जसपाका राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायत छन् ।
माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो । उनीहरूले पछिल्लो समय पार्टीको मुख्य नेतृत्व सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाए ।
मोर्चाले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई सघाउने जनाएको छ भने इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमलाई पहिचानवादीको साझा उम्मेदवार बनाएकै मोडल अगामी निर्वाचनमा अपनाउने लगायत नीति लिएको छ ।