पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरिएको छ। ६० सदस्यीय प्रदेश सभामा सभामुख कृष्ण प्रसाद धितालले आफ्नो मतसमेत जोडेर मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन्।
गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो। त्यस्तै २ मत तटस्थमा परेको थियो। मतदान प्रक्रियामा ५९ सदस्यले भाग लिएका छन्।
६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक रहको अवस्थामा सभामुख कृष्ण प्रसाद धितालले संबिधान अनुसार निर्णायक अवस्थामा आफूले मत दिन पाउने भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
सभामुखले घोषणा गर्नासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए।
चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबि गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो।
नेपालको संविधानको धारा १८८ मा प्रदेशका मुख्यमन्त्रीको विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था छ। सो धाराको उपधारा ३ मा स्पष्ट रुपले भनिएको छ,‘उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतले पारित हुन नसकेमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ।’
उपधारा १ र २ मा विश्वासको मत लिनुपर्ने प्रावधान रहेका छन्। गण्डकी प्रदेशसभाको बनोट अनुसार यो धाराको अर्थ हो– ६० सदस्यीय प्रदेशसभामा बहुमतको लागि ३१ जना सभासद पक्षमा रहनुपर्छ। तर, सभामुख कृष्ण धितालले सर्वोच्चको वैशाख १७ गतेको फैसलामा टेके। आफ्नो मताधिकार रहेको जिकिर गरे अनि ३० लाई नै बहुमत भएको घोषणा गरिदिए।
यता, कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले तत्काल पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणालाई चुनौती दिन सर्वोच्च अदालत जाने घोषणा गरेका छन्।
उनले भने,‘ ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको साथ चाहिन्छ, तर सभामुखले ३० सांसदको साथसहित मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गर्नु आफैँमा असंवैधानिक हो। हामी फेरि सर्वोच्च अदालत जान्छौंँ।’
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीसहित ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेको छ ।