दीपक खरेल
मेरो देशमा सरकार छ,
हो दुई तिहाईको कम्युनिष्ट सरकार छ ।
समाजवादको नारा दिन्छ, जनतालाई सपनाको तारा दिन्छ ।
मेरो सरकार,
टुईटरमा छ, भाईबरमा छ, फेसबुकमा छ ।
बेलाबेला टेलिभिजन र बिहान उठनासाथै आउने उसकै मुखपत्रमा छ ।
मेरो सरकार टुईटरमा सम्बृद्धीका गित सुनाउछ ।
टेलिभिजनबाटै रेल कुदाउछ ।
मौका परे पानीजहाजमा चढाउछ ।
मेरो सरकार ठुला–ठुला होर्डिङ बोर्डमा पनि छ ।
मेरो सरकार कहाँ छैन, मैले खाने चामल देखि स्वस्थ्य हुन खाने औषधिमा छ ।
कतै योजना बनेर छ, कतै कर बनेर छ ।
सबै कण–कणमा मेरो सरकार छ ।
तर, मूर्त छैन, कालान्तारदेखि मेरो सरकार अमूर्त छ ।
सिंहदरबार छेउमा ठडिएको राणाको मूर्ती जस्तो ।
नारायणहिटीमा सजिएको चमचमाउदो गजुर जस्तो ।
बालुवाटारमा हल्लिरहने चन्द्रसूर्य झण्डा जस्तो ।
टंगालमा हुने भ्रष्टाचारको भागबण्डा जस्तो ।
कहाँ छैन मेरो सरकार कण–कणमा छ ।
मुखमा माड नलाग्दा उ टुईटर ब्यञ्जन पस्कन्छ।
औषधीमूलो र उपचार नपुग्दा संसदमा ऐन बन्छ ।
मौका परिपाए ठट्टा सुनाउन टिभीमा झुल्किन्छ ।
दैनिक मुखपत्रमा योजनाका हजार बुँदा देखिन्छ ।
मेरो सरकार कहिले हावाबाट बिजुली बाल्छ ।
मेरो सरकार कहिले पाईपबाट ग्यास फाल्छ ।
मेरो सरकार राजमार्गमा चिल्ला गाडीमा हुइकिने सपना बाँडछ ।
मेरो देशमा सरकार छ ।
हो मेरो देशमा दुई तिहाईको कम्युनिष्ट सरकार छ ।
(दीपक खरेलको फेसबुकबाट)