टेकराज भुसाल/गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
अर्घाखाँचीमा चैतेदशैँको द्वादशीको दिन भूमिकास्थान–१० धनचौरको पर्यटकीय स्थल सेङलेङमा सरायनाच तथ दशैँमेला सम्पन्न भएको छ ।
सत्यदेवी÷बराह मन्दिरका पुजारी खुविराम खनालले हर्षोल्लासका साथ नाचिने सरायनाचले चतैदसैँको महत्त्वलाई थप बलियो बनाएको बताए ।
सत्यदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बन्जाडेका अनुसार यस वर्षको सरायनाच तथा चैतेदशैँको मेला अवलोकन गर्न शीतगङ्गाको जुकेना, ठाडा, भूमिकास्थानका सबै वडा र सन्धिखर्कसहित अर्घाखाँचीका विभिन्न क्षेत्रबाट दर्शक एवम् भक्तजन सेङलेङमा पुगेका छन् ।

विगतका वर्षमा भन्दा यस वर्ष दर्शनार्थीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बन्जाडेले जानकारी दिए ।
चिसो मौसममा जुलेपी, मःमः, चाउमिनसहित विभिन्न खानाका परिकार बनाएर बेच्न बसेकाको व्यापार पनि राम्रै भएको मन्दिर सञ्चालक समितिका सदस्य हिमनाथ खनालले बताए ।
खानाका साथै खोरखोरे, गिलासफोर जस्ता खेलका स्टलले समेत मेलाको शोभा थपेको उहाँको भनाइ छ ।
मेला हेर्न मात्रै नभएर गर्मीमा शीतल ताप्न र सेङलेङको चिसो एवम् स्वच्छ र रमणीय वातावरणमा रमाउन पनि नागरिकहरू त्यहाँ पुग्ने गरेको स्थानीय शुभ समालले बताउनुभयो ।
अर्घाखाँचीमा पर्यटकीय थुप्रै सम्भावनाका क्षेत्र भएर पनि ओझेलमा परेको तर अहिले जिल्लामा पत्रकार महासङ्घले पर्यटन विकासको उदेश्य राखेर सञ्चालन गरेको पर्यटन प्रर्बद्धन अभियानपश्चात सेङलेङमा समेत अवलोकन गर्नेहरूको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ ।
भूमिकास्थान नगरपालिकाले पर्यटकीय हबको रूपमा चित्रित गरेको सेङलेङमा सत्यदेवी र बराह मन्दिरको साथसाथै पाथिभराको मन्दिरसमेत स्थापना गरिएको छ ।
होमस्टेमा बास बसेर अर्गानिक खाना खान पाइने, पाथिभरा र सत्यदेवीको दर्शन गरी सेङलेङ दह, मसिनाको लेक र आसपासका क्षेत्रबाट सुन्दर हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि अहिले सेङलेङमा आन्तरिक मात्र नभएर बाह्य पर्यटकसमेत बढ्न थालेका हुन् ।

सरायनाच ऐतिहासिक भएको हुँदा यसको संरक्षण र प्रवद्र्धनमा युवा पुस्ताले चासो दिनुपर्ने भूमिकास्थान–१० का अगुवाहरूको जोड रहेको छ ।
पुजारी खुविराम खनालका अनुसार मध्यकालीन नेपालमा चार किमिसका दशैँ धुमधामका साथ मनाउने गरिन्थ्यो । यी दशैँमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्र मात्र छन् । आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्त प्रायः छन् तर यी सबै दशैँहरूको आआफ्नै विशेषता रहेको किंवदन्ती रहंदै आएको छ ।