सन्धिखर्क । अर्घाखाँचीमा नेपाल कम्युनिस्ट पार्टीको छयहत्तरौँ स्थापना दिवस तथा लेनिनको एक सय पचपन्नौँ जन्मजयन्ती अर्घाखाँचीमा पनि मनाइएको छ ।
“राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र एमसिसी खारेजी गरौँ, ऐतिहासिक तीन अभियान सफल पारौँ, कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी रूपान्तरण गरौँ” नारासहित २०८१ वैशाख १० गते सोमबार सो कार्यक्रम सम्पन्न भएको थियो ।
संसारभरि अन्याय, अत्याचार, शोषणमा परेका वर्गलाई सङ्घर्ष गरी त्यस्ता बेथितिको विरुद्धमा आवाज उठाई हरेक मानिसलाई बराबरको हक र सम्मानका लागि बाटो देखाउने महान् व्यक्ति लेनिनको जन्मदिवस परेको र नेपालमा पनि नेकपा स्थापनाको पचहत्तरौँ स्थापना दिवस पूरा भई छयहत्तरौँ दिनमा प्रवेश गरेकाले यो दिन कम्युनिस्टका लागि कुनै महान् पर्वभन्दा कम नभएको कार्यक्रममा बोल्ने वक्ताहरूको भनाइ रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले ऐतिहासिक तीन अभियानअन्तर्गत राजमोले वर्षभरि विभिन्न कार्यक्रम गरी मनाएको र लेनिनको शताब्दी स्मृतिदिवस र नेकपा पार्टीस्थापनाको ७५ वर्ष पूरा भएकोमा हीरक जयन्ती मनाउने पार्टीको कार्ययोजना रहेको जानकारी गराउनुभयो ।

कार्यक्रमको अध्यक्षतासमेत गर्नुभएका केसीले अहिले देशमा कम्युनिस्ट पार्टीको नाममा विदेशीको चाकडी र दलाली गर्ने दक्षिणपन्थी विचार बोकेका केही पार्टीका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको तर त्यस्ता पार्टी केही समयका लागि कपडाको शितारा जस्तै हो, धुने बेला आयो, धोएपछि झरिहाल्ने बताउनुभयो ।
समारोहमा भूमिकास्थान नगरपालिका–४ का वडाअध्यक्ष बाबुराम पन्थीसुनार, अखिल नेपाल जनजाति सम्मेलकी केन्द्रीय सचिव उषा पुन, राजमो पूर्व कोषाध्यक्ष तथा वामपन्थी नेता सिद्धि भट्टराई, राजमो नगर सदस्य कृष्ण खनाल, राजमो नगर समिति सदस्य शालिकराम बन्जाडे, अखिल नेपाल युवक सङ्घका जिल्ला सदस्य सन्तोष सुनार र अखिल नेपाल राष्ट्रिय उद्योग वाणिज्य सङ्घका जिल्ला सदस्य कमल खनालको उपस्थिति रहेको थियो ।
कार्यक्रम राजमो जिल्ला कोषाध्यक्ष गोविन्द बिसीको स्वागत मन्तव्य र राजमो नेता पशुपति ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
