काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा(एमाले)ले आफूलाई भाई कांग्रेस बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक जयन्ती मनाएको टिप्पणी गरेका छन्।
सोमवार १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनिनवादको महत्व विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले एमाले गतिलो भाई कांग्रेस बन्नका लागि हीरक जयन्ती मनाएको टिप्पणी गरेका हुन्।
उनले एमालेले हिरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको बताए।
उनले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिस्ट पार्टी नभएको बताए। कम्युनिस्ट आन्दोलन दुई धारमा बाँडिएको उल्लेख गर्दै सत्तामा भएका कम्युनिस्ट पार्टीहरु दक्षिणपन्थी अवसरवादी धारमा रहेका बताए। उनले सत्तामा रहेका कम्युनिस्ट पार्टी र कांग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नभएको बताए।