काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा बेहुलासहित ४० जना घाइते भएका प्रहरीले जनाएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट गएराति जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ पिस्करमा रहेको बेहुलीको घरतर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस आज (शुक्रबार) बिहान तौथलीको धारावतीमा दुर्घटनामा परेको हो।
सुस्पाबाट बेहुला सुशिल थामीलाई लिएर पिस्कर मुलाबारीमा रहेकी बेहुली गोरी थामीको घरतर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको हो। घटनास्थल त्रिपुरासुन्दरीको गौथलीबाट एक किमी दुरीमा पर्छ।
ज्यान गुमाउने तीनमध्ये दुई जनाको सनाखत भएको छ। दुर्घटनामा ज्यान गुमाउने भिमेश्व- १ का करिब २२ वर्षीय शिव श्रेष्ठ र सोही ठाउँका अन्दाजी ७० वर्षीय मानबहादुर थामीको मात्रै सनाखत भएको भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिए।
दुर्घटनामा बेहुलासहित झण्डै ४० जना घाइते भएका छन् ।
घटनास्थल नजिकै रहेको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी– ६ का वडाध्यक्ष रमेश बोहोराले सडकबाट पल्टिएको बस झण्डै २ सय मिटर तल खसेर भिरमा अड्किएको जानकारी दिए। कच्ची र अप्ठ्यारो सडकको कारण बस पल्टिएको हुन सक्ने उनले बताए।
गाडी भिरमा अड्किएको छ। ५५ जना सवारमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
सामान्य घाइतेको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको उनले बताए।
शुक्रबार बिहान साढे सात बजे बस दुर्घटनामा परेको हो। गम्भीर घाइतेलाई थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल लगिएको छ।