काठमाडौं । तत्कालीन नेकपा माओवादीले हत्या गरेका व्यवसायी रामहरी श्रेष्ठको परिवारलाई ज्यान मार्ने धम्की आएको छ ।
मृतक रामहरिकी श्रीमती रमिलाले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर सुरक्षाको प्रत्याभूति दिन माग गरेकी छन्।
रामहरि श्रेष्ठको हत्या आरोपमा कालीबहादुर खाम पक्राउ परेपछि आफूमाथि थ्रेट आएको भन्दै उनले सुरक्षा माग गरेकी हुन्।
घटनाको १६ वर्षपछि आरोपित पक्राउ पर्दा न्यायको आश जागेको भन्दै रमिलाले राजनीतिक पहुँचको आधारमा पक्राउ परेका खाम तत्कालै छुट्ने हो कि भन्ने आशंका व्यक्त गरिन्।
जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिए। साथै, उनले अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने भन्दै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गरे।
मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट पारे । माओवादी केन्द्र नेतृत्वको सरकारका बेला सोही दलका नेता खामविरुद्ध कारबाही हुनेमा श्रेष्ठले शंका व्यक्त गरेकी थिइन्।
उनी छोरालाई लिएर गृहमन्त्रालय पुगेकी थिइन् ।
खाम चैत २० गते काठमाडौंबाट पक्राउ परेका हुन्। उनलाई चैत २१ गते बयानका लागि चितवन अदालतमा उपस्थित गराइएको थियो।
काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते राति २ बजे माओवादी कार्यकर्ताले केही बुझ्ने भन्दै लगेका थिए।
त्यसको केही दिनपछि उनको हत्या भएको थियो। हत्या गरेपछि रामहरिको शव त्रिशूलीमा फ्याकिएको थियो।





