काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
ओमानको अलअमेरत खेल मैदानमा भएको २०८१ वैशाख ५ गते बुधबार भएको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो । पहिलो ब्याटिङ गरेको साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेपालले सात दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि गुलसन झाले अविजित ३२ रन बनाए । उनले १९ बल खेल्ने क्रममा दुई छक्का र दुई चौका प्रहार गरे । साथै दीपेन्द्र सिंह ऐरीले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

Gulshan Kumar Jha of Nepal plays a shot during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Saudi Arabia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 2), Muscat, Oman on April 17, 2024.
Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE
साउदी अरेबियाका लागि इस्तिक अहमदले दुई विकेट लिए भने उसमान नाजीव र वाजी उल हसनले एक/एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थियो । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुई/दुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक/एक विकेट लिए ।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो । (रासस)