बैतडीबजार । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् ।
भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।
‘यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदै छ’ उहाँले भन्नुभयो– ‘उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मङ्गलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।’
यस अवधिमा सीमानाकामा पूर्ण रूपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताउनुभयो । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उहाँको भनाइ छ ।
सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिएका हुन् ।
कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ ।