काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षक पदका लागि प्रश्तावित तोयम रायाको नाम अनुमोदन गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उहाँमाथि परेको उजुरीमाथि छानबिन गरी रायालाई सो पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो ।
संवैधानिक परिषद्बाट प्रस्तावित रायालाई योग्यता, क्षमता र अनुभव समेतको आधारमा महालेखापरीक्षक पदमा लागि उपयुक्त देखिएकाले उनको नाम समितिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए ।
संवैधानिक परिषद्को गत चैत्र २८ गते बसेको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायालाई महालेखापरीक्षक पदका लागि सिफारिस गर्ने निर्णय गरेको थियो भने चैत्र १९ गते संसदीय सुनुवाई समितिले १० दिने उजुरी आह्वान गर्दा उनीमाथि एउटा उजुरी र एउटा सूचना प्राप्त भएको थियो ।
ती उजुरी र सूचनामाथि पनि मंगलवारको बैठकले रायाले समितिलाई स्पष्ट पारेका थिए । उनको स्पष्टिकरण पनि चित्तबुझ्दो भएकाले समितिले महालेखापरीक्षक पदका लागि प्रस्तावित उनको नाम अनुमोदन गरेको पनि संसदीय सुनुवाई समितिले जनाएको छ ।
संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले महालेखापरीक्षकलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।