धनगढी । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् । नाउपाको रेशम चौधरी पक्षका सांसद चौधरीलाई सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले समेत साथ दिएको छ ।
आइतबार दिउँसो प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। नाउपासहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका गरी २७ सांसदको समर्थन रहेको दाबी छ ।
केन्द्रमा एमालेसँगको गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससँग सहकार्य गर्न पुगेको छ ।
सुदूरपश्चिममा नाउपाको रेशमलाल चौधरी पक्षमा ४ सांसद छन्। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५१ सांसद छन्। एक सांसदको निधन र समानुपातिक सांसद इन्द्रिरा गिरी पदमुक्त भएपछि २ पद रिक्त छ।
सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ। सुदूरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नाउपाका रेशम चौधरी पक्षका ४ र राप्रपाका १ जना सांसद छन्।
लक्ष्मणकिशोर रेशम समूहका सांसद हुन् । उता केन्द्रमा सत्ता गठबन्धनले नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति गर्दै रञ्जिताले कैलाश चौधरीलाई अघि सारेकी थिइन् ।