काठमाडौँ । राष्ट्रियसभाबाट ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धी’ सङ्कल्प प्रस्ताव पारित भएको छ ।
राष्ट्रियसभाको २०८० चैत ३० गते शुक्रबार बसेको बैठकमा सो प्रस्तावमाथि छलफल भई सर्वसम्मति पारित भएको हो ।
सङ्कल्प प्रस्तावमा नागरिकले खर्चको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सरकारलाई सचेत गराइएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट पारित सो सङ्कल्प प्रस्ताव तत्काल कार्यान्वयनमा लैजान नेपाल सरकारलाई निर्देशन दिए ।
त्यसैगरी, उहाँले सरकारले सो प्रस्ताव कार्यान्वयन गरे/नगरेको अनुगमन गर्न सभाअन्तर्गतको विषयगत समितिलाई सचेत पनि गराए ।
बैठकमा सो सङ्कल्प प्रस्ताव सांसद कमला पन्तले पेश गरेकी थिइन् भने सांसद पन्त प्रस्तावक रहेको सो सङ्कल्प प्रस्तावमा कृष्णप्रसाद पौडेल, जितजङ्ग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भूवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरूपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, गरिमा, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुङ्गाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक रहेका थिए ।

