काठमाडौँ । काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहारी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुन सक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।
बिपत् व्यवस्थापनविद् डा धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदुषण न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो ।
‘यति बेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ’ उहाँले भन्नुभयो– ‘देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदूषण बढेको थियो । वर्षाका कारण वायु प्रदुषण न्यूनीकरण हुने छ ।’
मङ्गलबार र बुधबार उपत्यकामा वायु प्रदुषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदुषित सहरका रुपमा सूचीकृत भएको थियो । ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दुई सय ६५ थियो । सोमबार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदूषण मङ्गलवार दुई सय पुगेको थियो । आज भने प्रदूषण घटेर एक सय ७७ एक्युआईमा सीमित छ ।