महेन्द्रनगर (कञ्चनपुर) । २०८० चैत २६ गते सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ ।
बेतालघाट पुलिस थानाका सबइन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् ।
मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरू नेपालको साविक भेरी अञ्चल बबईका भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।
घटनास्थल वरपर नेपालीहरू सडकछेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरू गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताउनुभयो ।
‘काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए’ उहाँले भन्नुभयो– ‘उनीहरूको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।’
दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उहाँले जानकारी दिनुभयो ।
गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत ‘स्टेट डिजास्टर रेस्पोन्स टिम’ समेत खटिएको सबइन्सपेक्टर अन्सारीले बताउनुभयो ।