खलङ्गा । पछिल्लो समयमा बिमाको महत्त्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बिमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठओटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।
हालसम्म पैँतालिस हजार सात सय २४ महिला र ४४ हजार छ सय ८७ जना पुरुष स्वास्थ्य बिमामा आबद्ध भएका जिल्लास्थित स्वास्थ्य बिमा कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘जिल्लाका ११ हजार छ सय ४८ घरपरिवार बिमामा आबद्ध छन् ।’ २०७४ देखि जिल्लामा स्वास्थ्य बिमाको सेवा विस्तार भएको उहाँको भनाइ छ ।
स्वास्थ्य बिमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्ण रूपमा जानकारी नहुँदा यसको महत्त्वबारे बुझेका थिएनन् । अहिले बिमा सहजकर्ता घरघरमा गएर बिमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बिमामा आबद्ध हुने स्थानीयको सङ्ख्या बढेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।
जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याउनका लागि कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उहाँको भनाइ छ । सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अतिगरिब घरपरिवारलाई निःशुल्क बिमा गर्ने व्यवस्था गरेको छ ।
अन्यको हकमा शुल्क लिएर रु एक लाख बराबरको स्वास्थ्य बिमा गर्ने गरिएको कार्यालयले जनाएको छ । बिमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले सह भुक्तानीको व्यवस्थासमेत गरेको छ । सरकारले २०७२ देखि स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको हो ।

