काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
बिहीवार आयोगले विशेष अदालतमा पुगेर पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रवन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीसहितका ३२ जनलाई प्रतिवादी बनाई आरोप पत्र दर्ता गराएको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले ए ३३०—२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको जानकारी दिए । उनले ३२ जना प्रतिवादी बनाइ मुद्दा दर्ता भएको बताए । जसमा २४ जना नेपाली र ८ जना विदेशी छन् ।
अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता गराएको उनले बताए ।
सूचना अधिकारी रेग्मीकाअनुसार प्रतिवादी सबैलाई समान बिगो दाबी गरि मुद्दा दर्ता गरिएको छ ।
अख्तियारले यस प्रकरणमा गत मंसिरमा सार्वजनिक सूचना नै जारी गरेर जहाज खरिद प्रकरणमा संलग्न तीनवटा विदेशी कम्पनीका सञ्चालक र प्रतिनिधिलाई बयानका लागि बोलाएको थियो।
अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव एवम् नेवानिका तत्कालीन संचालक समिति अध्यक्ष शंकरप्रसाद अधिकारी, नेवानिका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन र तत्कालीन कायममुकायम निर्देशक रवीन्द्र श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।
त्यसैगरी निगमका निर्देशकत्रय उपेन्द्र पौडेल, उमेश पौडेल र श्रवण रिजाललाई पनि यो भ्रष्टाचार मुद्दाको प्रतिवादी बनाइएको छ।
अख्तियारले निगमका तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल र वर्तमान उपनिर्देशक बृहत्तमान तुलाधारविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।
यस प्रकरणमा त्यसबेला जहाज खरिदमा परामर्शदाताको भूमिका खेलेका सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक एवम् नेवानि सञ्चालक समितिका तत्कालीन सदस्य जीवनप्रकाश सिटौला र नेपाल नागरिक उड्ययन प्राधिकरणका तत्कालीन सञ्चालक समिति सदस्य अच्युतराज पहाडीविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ।
त्यसैगरी भन्सार विभागका तत्कालीन महानिर्देशक एवम् नेवानि सञ्चालक समिति सदस्य शिशिरकुमार ढुंगाना, पर्यटन मन्त्रालयका सहसचिव एवम् निगमका तत्कालीन सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछाने, नेवानिका तत्कालीन सञ्चालक समिति सदस्य निमानुरु शेर्पा, टेकनाथ आचार्य र मुक्तिनाथ पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलेको छ।
निगमका तत्कालीन कायममुकायम निर्देशक रामहरि सेढाई, वर्तमान नायव महाप्रबन्धक जनकराज कालाखेती, तत्कालीन उपनिर्देशक प्रभाशकुमार आचार्य पनि यो भ्रष्टाचार प्रकरणमा मुछिँदै विशेष अदालतमा मुद्दा चलाइएको छ।
त्यस्तै निगमका तत्कालीन निर्देशक गणेबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन निर्देशक तथा हालका वरिष्ठ क्याप्टे सुवास रिजालविरुद्ध पनि यो प्रकरणमा मुद्दा दर्ता भएको छ।
प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा बिहीबार बसेको अख्तियारको बैठकले अनुसन्धान अधिकृतको प्रतिवेदनअनुसार मुद्दा चलाउने निर्णय गरेको थियो।
—