काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको बीबीसीले जनाएको छ ।
ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।
ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्पको घटना भएको बताएका छन्।
बुधवारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निट्यूड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन्।
भूकम्पले निम्त्याएका क्षतिका विवरण आउन बाँकी छ।
आवासीय भवनहरू भत्केका र मानिसहरूलाई उनीहरूका घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएका दृश्य देखिने फूटेज स्थानीय सञ्चारमाध्यमले देखाएका छन्।
ताइवानमा भूकम्पका कारण पहाडी भेगमा पहिरो गएको छ
जापानको दक्षिण-पश्चिमी क्षेत्रको ठूलो हिस्सामा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएको छ।
फिलिपिन्सको भूकम्प मापन निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ।
चीनको दक्षिण-पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७।६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो। (बीबीसी)