काठमाडौं । सत्ता गठबन्धनका चार दलबीच सात प्रदेशमा मुख्यमन्त्रीको भागबण्डा मिलेको छ । सोमबार बसेको सत्तागठबन्धनको बैठकले कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति गरेको हो ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा समझदारी भएको छ ।
जसअनुसार बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने सहमति भएको छ । यस्तै, गण्डकी, कर्णाली र कोसीको नेतृत्व एमालेले पाएको छ।
यसैगरी सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो गर्ने सहमति भएको छ।
मधेस प्रदेशको मुख्यमन्त्री भने जसपालाई नै दिने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० भने कुनै प्रदेश सभामा प्रतिनिधित्व नगर्ने भएकाले यसमा सहभागी नभएको हो।
यसैबीच केन्द्रमा भागबण्डा मिलेसँगै कर्णालीमा मंगलबारका लागि तय भएको विश्वासको मत लिने कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि मुख्यमन्त्री राजकुमार शर्माले लिने विश्वासको मत स्थगित हुने भएको हो । यता, माओवादीकै भागमा परेको बागमतीमा भने सोमबार मात्रै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएका छन् ।
सत्तागठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको भने प्रदेशमा प्रतिनिधित्व छैन ।