काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले उग्ररुप लिएको छ । सरकारलाई समर्थन गर्ने विषयमा संस्थापक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा नेताहरूबीच हात हालाहाल भएको हो ।
सोमबार काठमाडौंको अनामनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेताहरूमाथि कुटपिट भएको छ।
बैठकका क्रममा कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि हातपात भएको छ। कुटपिट गरिएका दुवैजना रञ्जिता पक्षधर नेताहरू हुन्।
बैठकस्थलमै कुटपिटको अवस्था आएपछि अहिले रञ्जिता पक्षका ५ जना नेताहरू त्यहाँबाट बाहिरिएका टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराले बताए ।
बैठकस्थल छाडेर हिँडेका उनीहरू अध्यक्ष रञ्जितासहित छलफलमा जुटेका छन् ।
फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई समर्थन गर्ने नगर्ने विषयमा नागरिक उन्मुक्ति फुटको संघारमा पुगेको छ ।
संस्थापक रेशम चौधरी केन्द्रमा प्रतिपक्षमा बस्ने र सुदूरपश्चिममा नेपाली कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने अध्यक्ष रञ्जिता श्रेष्ठ केन्द्रमा माओवादी–एमालेको गठबन्धनलाई समर्थन गर्नुपर्ने पक्षमा छिन् ।
अध्यक्ष रञ्जिता र संस्थापक रेशमबीचको विवादले पार्टी फुटको संघारमा पुगेका बेला दुई पक्षबीच कुटाकुट भएको हो ।