म्याग्दी । मङ्गला गाउँपालिका–१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरबास (होमस्टे) पाहुनाको पर्खाइमा छ । टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरबास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन ।
टोड्के पूर्णगाउँ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो समय पाहुना नआउँदा घरबास सुनसान रहेको बताउनुभयो । सुरु गरेको डेढ वर्षमा पाहुनाले दिन खाली हुँदैन्थ्यो, विदेशी पर्यटक पनि आउन थालेका थिए, उहाँले भन्नुभयो, कोरोनाको महामारी फैलिएपछि घरबासमा पाहुना आएका छैनन्, पाहुना आउने आशामा छौँ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूूर्णगाउँका ११ घरमा सञ्चालन भएको घरबासमा प्रतिदिन २२ जना बास बस्ने क्षमता रहेको छ । दूूध, दहीसहितको अर्गानिक सादा खाना रु दुई सय, मासु खाना रु तीन सय तथा ‘बेड’को रु एक हजार मूल्य निर्धारण गरिएको छ ।
फापर, आलुु, मुला तथा बर्खायाममा निगालोको टुसाको परिकारको स्वाद लिन पाइन्छ । साथै यहाँ पारिवारिक वातावरणमा रमाउन पाइन्छ । गुन्द्रुकको अचार र सुप पनि चखाउने गरिएको घरबास सञ्चालक गङ्गा आचार्यले बताउनुभयो । पर्यटक नआउँदा आम्दानीको अवसरबाट बञ्चित भएको उहाँले बताउनुभयो ।
अग्रिम जानकारी गराए खीर, लोकल कुखुरा, खसीको मासु, सेलरोटीका साथै भजन, चुड्का, पुख्र्याैली र पञ्चेबाजामा रमाउन पाइन्छ । उहाँका अनुसार पाहुनाघरमा स्वागत सत्कार गरेर बास बस्न घरघरमा लैजाने गरिएको छ ।
म्याग्दीको बेनीदेखि एक घण्टा ३० मिनेट गाडी र पाँच घण्टा पैदलयात्रा गरेपछि पूर्णगाउँ पुुगिन्छ । पूर्णगाउँदेखि एक घण्टा उकालो पैदलयात्रा गरेपछि समुन्द्री सतहदेखि दुई हजार चार सय मिटर उचाइमा रहेको टोड्के पुगिन्छ ।
लालीगुराँसको जङ्गलकाबीचमा रहेको पहाडको टाकुरा टोड्केदेखि सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र पृष्ठभूमिमा धवलागिरि, नीलगिरि, मानापाथी, अन्नपूर्ण, माछापुच्छे हिमाल अवलोकन गर्न सकिन्छ । वसन्त ऋतुमा टोड्केको पाखा लालीगुराँस फुलेर रङ्गिएको छ ।
छोटो अवधिको बिदा मनाउन र सहरी क्षेत्रको कोलाहलबाट मुक्त भएर एकान्त वातावरणमा रमाउनका लागि टोड्के उपयुक्त गन्तव्य हो । सडक यातायात पुगेको टोड्केमा खान, बस्नका लागि व्यवस्थित होटल र घरबास पनि छ ।
धौलागिरि पानोरमा सांस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्गमा समेटिएको टोड्के हुँदै मालिका, ठाडाखानी, कुइँनेखानी, झिँलगायतका गाउँ र धार्मिक पर्यटकीयस्थलको भ्रमणमा पनि जान सकिन्छ ।