काठमाडौं । आठौं संस्करणको आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवल च्याम्पियन बनेको छ।
एभरेस्ट पहिलोपल्ट च्याम्पियन बन्न सफल भएको हो। पहिलोपटक च्याम्पियन बन्ने क्रममा एभरेस्टले दुईपल्टको च्याम्पियन तथा साविक विजेता नेपाल पुलिस क्लबलाई ३–१ को सोझो सेटमा हरायो।
यससँगै एभरेस्टले समूह चरणमा भोगेको हारको बदलासमेत लिन सफल भएको छ। समूह चरणमा पुलिसले ३–२ को सेटमा जित निकालेको थियो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमा एभरेस्टले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्यो। एभरेस्टले पहिलो सेट १९–२५ ले गुमाउन पुगेको थियो।
एभरेस्टले दोस्रो सेट २५–२२ जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए।
तेस्रो सेटमा पनि एभरेस्टको सुरुवात राम्रो रह्यो। १०–३ ले अघि रहँदा पुलिसले पूनरागमन प्रयास गर्दै खेललाई १०–७ को स्थितिमा ल्याए।
तर, त्यसपछि पुलिसको प्रदर्शन फितलो बन्दा एभरेस्टले तेस्रो सेट २५–१८ ले सहजै जित्दै खेलमा २–१ को अग्रता लिन सफल भयो।
चौथो सेटमा पनि एभरेस्टको सुरुवात निकै राम्रो रहँदा ७ अंकको आरामदायी अग्रता लिदै खेलमा पकड जमायो। पुलिसले पूनरागमन प्रयास गरेपनि सफल नहुँदा एभरेस्टले २५–१९ को सहज जित निकाल्न सफल भयो।
च्याम्पियन बनेसँगै एभरेस्टले ५ लाख रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो भएको पुलिसले २ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाएको छ।
तेस्रो भएको एपिएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ।