नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीप्रति भाकपा (माले) मासलाइनले विरोध व्यक्त गरेको छ ।
पार्टीको पोलिटब्युरोले मार्च २२, २०२४ शुक्रबार प्रेसवक्तव्य जारी गर्दै विरोध व्यक्त गरेको हो ।
प्रेसवक्तव्यमा इलेक्टोरल बन्ड प्रकरण अगाडि आएपछि राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) र भारतीय जनता पार्टी सरकारको वास्तविक चरित्र अगाडि आएको बताइएको छ ।
चुनावको सङ्घारमा मुख्यमन्त्री केजरीवालको गिरफ्तारीलाई निन्दनीय बताउँदै पार्टीले सो कदमलाई मोदी सरकारको नाङ्गो तानाशाही कदमभन्दा बढी केही नभएको धारणा राखेको छ ।
“हाम्रो दृढ मत छ, यो फासिवादी आक्रमणले आरएसएस–भाजपा विरोधी सम्पूर्ण शक्तिलाई आफ्नो सङ्कल्प अरू बलियो बनाउन मदत गर्ने छ’ पार्टीले भनेको छ– ‘सङ्घर्षका संसदीय तथा गैरसंसदीय साधनको प्रयोग गरेर उनीहरू अरू निडर र सङ्कल्पबद्ध भएर सङ्घर्ष गर्ने छन् ।’