काठमाडौँ । बैतडीमा पतिले कोदालो प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ ।
डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६२ वर्षीया किसनसिंह धामीले ५६ वर्षीया पत्नी पार्वती धामीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घाइते पार्वतीको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार धामीले अन्य दुई जनामाथि पनि कोदालो प्रहार गरी घाइते बनाएका छन् ।
कोदालो प्रहारबाट बैतडीको दशरथ चन्द नगरपालिका–९ का २९ वर्षीय सुवास कलौनी र डिलाशैनी गाउँपालिका–३ का २६ वर्षीय देवराज भट्ट गम्भीर घाइते भएका छन् ।
उनीहरूको टाउकोमा गम्भीर चोट लागेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । घाइते कलौनी डिलाशैनी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख हुन्। भट्ट डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत छन् ।
उनीहरु धामीको घरमा डेरामा बस्दै आएका थिए ।
कोदालो प्रहार गर्ने धामीलाई नियन्त्रणमा लिएर घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोदालो प्रहार गर्नुको कारण भने खुलेको छैन।