काठमाडौं । पूर्वउपसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले कपिलवस्तुबाट पक्राउ गरेको हो।
पक्राउ परेका महरालाई भैरहवाबाट जहाजमा काठमाडौं ल्याइएको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ। अब सरकारी वकिलको कार्यालय हुँदै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिनेछ ।
केही दिनअघि मात्रै सीआईबीले सुन तस्करीमा महराकोसमेत संलग्नता देखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो।
गत शुक्रबार मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए।
मन्त्रालयमा केही दिनअघि भएको छलफलमा मन्त्री लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष महरासहित प्रतिवेदनले औँल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका थिए।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाटसमेत बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साढे ६१ किलो सुन बरामद गरेको थियो। यो प्रकणमा उच्च तहका नेता, कर्मचारीदेखि व्यापारीहरूसमेतलाई आयोगले दोषी देखाएको छ।
इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा यसअघि नै पक्राउ परेका थिए।