काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ ।
सत्तारूढ दल माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरा भेपमार्फत् भएको सुन तस्करीमा दोषी देखिएको भन्दै मुद्दा चलाउन सिफारिश गरेको स्रोतको भनाई छ ।
आयोगले महरासँग माघ २५ गते बयान लिएको थियो ।
सुन तस्करीका नाइकेसँग पटक पटक टेलिफोन सम्पर्क भएको र छोरा समेत संलग्न रहेकोले महराको भूमिका देखिएको आयोग स्रोतले बतायो ।
उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बिहीवार गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आयोगको प्रतिवेदन पढेपछि रविले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।
यस्तै, आयोगले प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालको भूमिका पनि शंकस्पद भएको बताएको छ । सुन तस्करीका आरोपित जीवन चलाउनेले सर्वेन्द्र खनालको नाम पोलेकोमा सीआईबीका अधिकारीले बयान च्यातेको प्रतिवेदनमा औँल्याइएको छ ।
प्रतिवेदनले सीआईबीको छानबिन मै शंका उब्जाउँदै फितलो अनुसन्धान गर्नेमाथि कारवाहीको सिफारिस गरेको छ ।