काठमाडौं । आरती साहको हत्या प्रकरणबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेरि अनुसन्धान गर्ने भएको छ । मंगलबार साँझ गृहमन्त्रालय र आरतीको परिवारबीच पाँच बुँदे सहमति भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको सहमतिपत्रमा गृह मन्त्रालयका अधिकारी र आन्दोलनरत साहको तर्फबाट आमा, दाजु र मामाले हस्ताक्षर गरेका छन् ।
सहमतिमा आरतीको हत्याबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेरि अनुसन्धान गर्ने उल्लेख छ। उक्त अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा पुनःअभियोजन गर्ने र परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन पहल गरिने पनि सहमति भएको छ।
सहमतिका क्रममा गृहमन्त्री लामिछानेले साहका परिवारलाई न्याय दिलाएर छाड्ने प्रतिबद्धता जनाए। सहमति पत्रमा हस्ताक्षर हुँदा आरतीको परिवारलाई साथ दिँदै आएका आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साह पनि उपस्थित थिए।
सहमतिपछि साहको परिवारले लामो समयदेखि जारी आन्दोलन फिर्ता लिएको छ।
