काठमाडौं । आगामी २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनमा वैशाख १४ गतेसम्म १८ वर्ष पुग्नेले भोट हाल्न पाउने भएका छन् ।
वैशाख १५ गते उपनिर्वाचन हुने इलाम जिल्ला प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली अधवधिक गर्न आह्वान गरेको छ । त्यसका लागि देशभरका मदाताको नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न सबै निर्वाचन कार्यालयहरुबाट संकलन भएको मतदाता नामावलीको अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ हुने भएको छ।
यस अनुसार निर्वाचन कार्यालयबाट फागुन १३ गते सम्म संकलन भएका विवरणहरु मध्ये २०८१ वैशाख १४ गते सम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरिने छ।
मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन कार्यक्रम फागुन २९ गते देखि चैत ५ गतेसम्म सञ्चालन हुनेछ। यसका लागि फागुन २८ गते आयोगको वेबसाइट मा मतदाता नामावली प्रकाशन गरिनेछ।
उक्त अवधिमा मतदाता नामावलीमा भएको त्रुटी सच्याउन, कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन, एकाघर परिवारका सदस्यको मृत्यु भएको वा नागरिकता त्याग गरेको अवस्थामा नामावलीबाट नाम हटाउनका लागि आयोगको वेबसाइटमा गई अनलाइन मार्फत वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमा निवेदन दिन सकिनेछ। मातदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात चैत २२ मा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।