काठमाडौं । सरकार गठन भएलगत्तै नेपालका लागि भारतीय राजदूतले सक्रियता बढाएका छन् ।
बिहीबार भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरे ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा श्रेष्ठ र श्रीवास्तवबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।
यस्तै, नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट गरे।
‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु।’
प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए।