काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले नाम मात्रै वामपन्थी राखेर वास्तविक चरित्रको वामपन्थी बन्न नसकिने बताउनुभएको छ ।
२०८० फागुन २४ गते बिहीबार प्रतिनिधि सभामा राजमोको धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
पाँच मिनटको सम्बोधनमा अध्यक्ष केसीले समसामयिक विषयमा सङ्क्षिप्तमा धेरै विषयमा चर्चा गर्नुभएको थियो ।
पाठकको जानकारीका लागि हामी उक्त मन्तव्यको सम्पादित भाग यहाँ प्र्रस्तुत गरेका छौँ :
यसपालि नयाँ गठबन्धनको चर्चा छ । पोहोर साल यति बेला पनि यस्तै अवस्था थियो ।
नेपालमा के भयो भने जुनसुकै मूल्य चुकाएर भए पनि सत्तामा पुग्नुपर्दछ । त्यहाँ पुगेपछि राष्ट्र र जनताको काम होइन, पद भजाएर भए पनि निजी स्वार्थ पूरा गर्नुपर्छ भन्ने चरित्र निर्माण भयो । नेपाली राजनीतिको चरित्र यही छ ।
पोहोर पुस १० गते हाम्रा सम्माननीय प्रधानमन्त्री एकाएक बालकोट पुग्नुभयो । त्यसलाई समर्थन गर्न सबै सांसद जानुभयो । राष्ट्रिय जनमोर्चा एक्लै बन्यो संसद्मा ।
प्रधानमन्त्रीज्यू फेरि बालकोटबाट फर्किएर बुढानीलकण्ठतिर आउनुभयो । त्यतिखेर पनि समर्थन गरे सबैले । के हो यस्तो नेपालको राजनीति ?
अहिले बजारमा व्यापक नारा के लागेको छ भने वामपन्थी एकता । कति चोटिलो नारा ? के वामपन्थीको निश्चित चरित्र हुन्न ? सिद्धान्त हुन्न ? कार्यक्रम हुन्न ? आचरण हुन्न ? नाम मात्रै वामपन्थी राखेर हुन्छ ? काम खामपन्थी, नाम वामपन्थी । यस्तो हुन्छ ? छातीमा हात राखेर भन्नुस् त वामपन्थी साथीहरूले, चरित्र के छ तपाईंहरूको ? के गरिरहनुभएको छ तपाईंहरूले ।
अहिले जुन सरकार बनेको छ, त्यसमा कस्ता कस्ता व्यक्ति आए ?
सहकारीको यत्रा चर्का कुरा गर्नुहुन्छ तपाईंहरूले । जसले सहकारीको नाममा ब्रह्मलुट मच्याएको छ, त्यही महान् बहादुरलाई सहकारी मन्त्री बनाउनुस् त, तब के हुन्छ ? यहाँ त्यही भएको छ अहिले । यतिका नेपाली जनता सहकारीबाट लुटिएका छन् । सहकारीबाट लुटिएकाले अब न्याय पाउँछन् त ? कसले बुझेको छैन यी कुरा ?
तपाईंहरूलाई कुनै मान्छेको चरित्र के छ ? इतिहास के छ ? त्योसित मतलव छैन । कसलाई मिसाउँदाखेरि आफ्नो स्वार्थ पूरा हुन्छ ? त्यही गर्नुहुन्छ । विदेशीको एजेन्डा बोक्न पनि तपाईंहरूलाई कुनै लाज लाग्दैन । विदेशीका एजेन्डा बोक्नुपरे बोक्ने तर सत्ता ज्यान गए पनि नछोड्ने ।
सङ्घीयता आउनुभन्दा पहिले यो जात्रा एउटा सिंहदरबारमा मात्रै नेपाली जनताले देख्नुपथ्र्यो । अहिले त यो जात्रा तपाईंहरूले आठ ठाउँमा देखिरहनुभएको छ । आठओटा मन्त्रिमण्डल छन् यो व्यवस्थामा । अर्बौं रुपियाँ खर्च भइरहेको छ नेपाली जनताको ।
शिक्षा के छ, नेपालका स्कुलकलेजमा भन्दाखेरि यो देशमा केही हुन्न, विदेश जानुपर्दछ । तपाईंहाम्रा छोरा, नाति, सन्तान–दरसन्तान सबै विदेश पठाउने हो भने यतिका ठुलो खर्च किन गर्नुहुन्छ ? आठ आठ ठाउँमा क्याबिनेट चलाउने त्यो खर्चबारे तपाईंहरूले विचार गर्नुपर्दैन ?
तपाईंहरूलाई त अहिले बिजाएको होला नि ! यहाँ सिंहदरबारको जुन विकृति छ, त्यो विकृति सातओटै प्रदेशमा गएको छ । हङ्गामा भएको छ त्यहाँ । कसलाई फाल्ने ? कसलाई ल्याउने ? कसलाई अविश्वास गर्ने ? यस्तो जात्रा गर्ने ? त्यसकारण राष्ट्रिय जनमोर्चाले भनेको छ, नेपालमा सङ्घीयता चाहिँदैन ।
नेपालका नेताहरूको प्रवृत्ति, चरित्र, यहाँका शासक–प्रशासकको चरित्र सबै एकात्मक, खर्च मात्रै सङ्घात्मक । यसरी तपाईंहरूले नेपाली जनतालाई डुबाउनुभयो ।
हामीले भनेकै हो, प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनको आधारमा राज्यको पुनर्संरचना गर्नुस् । यदि सङ्घीयता पालिरहनुहुन्छ भने यही कारणले देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि खतरा मडारिरहने छ ।
२२/२५ दिन पैदलै हिँडेर सहकारीपीडित आउनुपर्ने काठमाडौँमा । पीडितहरू जहाँबाट आएका हुन्, त्यहाँ प्रदेश सरकार छैन ? त्यहाँ स्थानीय निकाय छैन ? यो सबै हुनुको पछाडिको कारण के हो भने सहकारीभित्र पनि राजनीति गर्नेहरू छन् । उनीहरूको आडमा खाइरहेका छन् एकथरीले । विभिन्न भ्रष्ट आर्थिक क्रियाकलापमा राजनीतिक नेताहरूको संलग्नता नभइकन तिनले मनपरी गरेका छन् र ? अहिलेका यी सबै क्रियाकलापले एक सालमा तीनओटा गठबन्धन फेरियो । यो सबै गतिविधिले के गर्छ भने हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रमाथि कालो बादल मडारिरहेको छ ।
एकथरीलाई धेरै खुसी लागिरहेको छ किनभने यो गठबन्धन भत्कियो । अहिले गठबन्धनमा जो जो सामेल भएका छन्, ती नदेखेका देवता हुन र ? नचिनेका हुन् र ? २०७४ सालमा सबै छोडेर वामपन्थी एकताका लागि त्यही काम भएको हो त । त्यसैले अहिले हामीले जुन जात्रा गरिरहेका छौँ राजनीतिमा, त्यो जात्राबारे विचार गरौँ । हामी सच्चिऔँ । यदि सच्चिएनौँ भने अहिले नेपाल जसरी विदेशीको क्रिडास्थल भइराखेको छ भन्ने थाहा छ हामीलाई, त्यो अझै गम्भीर बन्ने छ तर सत्तास्वार्थले गर्दाखेरि हामी अत्यन्तै चुर्लुम्म डुबिरहेका छौँ । यसरी हामी मुलुलकलाई दिनप्रतिदिन अधोगतितिर लगिरहेका छौँ । यसबारे गम्भीर हुनुपर्दछ बेलैमा ।
यो लोकतन्त्र, गणतन्त्र गयो भने तपाईंहरू कहाँ बसेर उफ्रिनुहुन्छ ? यति ठुलो जनमत खडा भइराखेको छ, व्यवस्थाको विरुद्धमा । म जिल्लाबाट घुमेर आएको छु । लोकतन्त्र, गणतन्त्रप्रति मान्छेहरूको यति ठुलो वितृष्णा बढिरहेको छ । मैले अस्ति पनि भनेँ, अब हुने प्रतिगमन अत्यन्तै भयानक हुने छ । त्यसैले यस विषयमा गम्भीर बनौँ ।