काठमाडौँ । राष्ट्रिय जनमोर्चा काभ्रेपलान्चोक जिल्ला समितिकी कोषाध्यक्ष जानकी श्रेष्ठको निधन भएको छ ।
लामो समयदेखि पेटको क्यान्सरद्वारा पीडित श्रेष्ठको २०८० फागुन २३ गते बुधबार अपराह्न २:५० बजे निधन भएको हो ।
नेकपा (मसाल) को पार्टीसदस्य (क. हिमाली) समेत रहनुभएकी श्रेष्ठको फागुन २४ गते बिहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
दाहसंस्कारअघि उहाँको पार्थिक शरीरमा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले कम्युनिस्ट पार्टीको झन्डा ओढाउनुभएको थियो ।
स्मृतिशेष श्रेष्ठको बारेमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले शोकमन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले गर्नुभएको थियो ।
आर्यघाटमा वामपन्थी नेता आनन्द शर्मा, राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनलगायत दर्जनौँ मसालसम्बद्ध नेताकार्यकर्ता तथा परिवारका सदस्यको उपस्थिति रहेको थियो ।
७२ वर्ष उमेर रहेकी श्रेष्ठ काभ्रेको बल्थली क्षेत्रमा रहेर मसालको राजनीतिमा सक्रिय रहनुभएको राजमोले जानकारी दिएको छ । उहाँ २०७४ सालको आम निर्वाचनमा प्रतिनिधि सभातर्फको समानुपातिक उम्मेदवार हुनुहुन्थ्यो ।
पछिल्लो समयमा काठमाडौँमा रहँदै आउनुभएकी श्रेष्ठको २०७९ वैशाखदेखि काठमाडौँको वीर अस्पताल, प्रसूति अस्पताल, भक्तपुर क्यान्सर अस्पतालमा उपचार भएको थियो । गत २०७९ साउनदेखि उहाँको उपचार ललितपुरस्थित हसपिस नर्सिङ केयरमा भइरहेको थियो ।
