काठमाडौं । नेकपा (एकीकृत समाजवादी) लाई सत्ता गठबन्धनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन्। मंगलवार राति एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वर पुगेर प्रधानमन्त्री दाहाल र ओलीले सरकारमा आउन आग्रह गरेका हुन्।
बैठकका क्रममा सत्ता गठबन्धनमा सहभागी हुन एकीकृत समाजवादी सकारात्मक देखिएको नेताहरुले बताएका छन्।
बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले आफू नेपाललाई स्वास्थ्यलाभको कामना गर्न आएको बताए । उनले वार्ता सकारात्म भएको प्रतिक्रिया दिए ।
बैठकमा उपस्थित नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र नेपाल सकारात्मक रहेको बताए ।
उनले भने, ‘हामीले उहाँलाई अनुरोध गरेका छौँ । भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ । सकारात्मक छ । यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छाँै ।’
यस्तै, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पनि वाम दलहरू एकीकृत भएर जान ओली प्रचण्डले आग्रह गरेको बताए। उनले एकीकृत समाजवादीको बुधवार बैठकबाट टुंगो गर्ने पनि स्पष्ट पारे ।
मंगलबार साँझ ओली–प्रचण्डसहित नयाँ गठबन्धनका नेताहरू माधव नेपाललाई फकाउन उनकै निवास कोटेश्वर पुगेका हुन् ।