काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रातारात गठबन्धन बदलेपछि उत्पन्न अस्थिरताको तरंग प्रदेश सरकारसम्म पुगेको छ ।
प्रधानमन्त्री प्रचण्डले केन्द्रमा नेपाली कांग्रेसका मन्त्री हटाएको बदलामा गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्रीले माओवादीका मन्त्री हटाएका छन् ।
कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।
मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत वैशाख १५ र जुग्जालीलाई वैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।
गण्डकी प्रदेशसभाका ६० सदस्यमध्ये कांग्रेससँग २७ जना सांसद छन्।
गण्डकीमा प्रमुख प्रतिपक्षी एमालेसँग २२, माओवादी केन्द्रसँग सभामुखसहित ८, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग २ जना र नेकपा एकीकृत समाजवादीसँग एकजना सांसद छन्।