काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)मा नेताहरूलाई काखा पाखा गरेको भन्दै भाँडभैलो मच्चिएको छ । हालै बसेको स्थायी समितिको बैठकमा भएको कार्यविभाजनलाई लिएर नेताहरूको असन्तुष्टि छताछुल्ल भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको जिम्मेवारी खोसेर आफ्ना भाइ नारायण दाहाललाई बागमती र बुहारी बिना मगरलाई सुदूरपश्चिम सहइन्चार्ज बनाएपछि नेताहरू आक्रोशित भएका हुन् ।
माओवादीका उपमहासचिव जनार्दन शर्माले पार्टीमा बुधबार भएको कार्यविभाजनलाई लिएर गम्भीर असहति जनाएका छन् । यस्तै, स्थायी समिति सदस्य खगराज भट्टले पनि आपत्ति जनाएका छन् ।
बागमती प्रदेश इन्चार्जको भूमिकाबाट बिदा गरेको अवस्थामा शर्माले असहमति पत्र नै दर्ता गराएका हुन्। शर्माले विधान महाधिवेशनबाट पारित विषयलाई बेवास्ता गरी विधिविहीनतालाई निरन्तरता दिने उद्देश्य नेतृत्वले राखेको आरोप पनि शर्माले लगाएका छन्।
उनले विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वय गर्न पनि माग गरेका छन्। शर्माले मंगलबार प्रस्तावित भई असहमतिबीच पारित गरिएका निर्णयहरूप्रति आफ्नो गम्भीर असहमति रहेको जनाउँदै फरक मत दर्ता गराएका छन्।
‘कार्यविभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्यविभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु’, उनले भनेका छन्, ‘जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति म लगायतका कमरेडहरूलाई लागू गरे पनि नारायण दाहाललाई बागमती प्रदेशको सह–इन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पस्ट गरेको छ।’
उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइसमेत रहेका नारायण दाहाललाई इन्चार्ज बनाउँदा आफूहरूलाई नियोजित योजनासहित जिम्मेवारी नदिइएको दाबी गरेका छन्। प्रचण्डका भाइ नारायण दाहाल अहिले राष्ट्रिय सभाका सदस्य छन्।
शर्माले सेती–महाकालीमा अध्यक्ष प्रचण्डकै संलग्नतामा गरिएका गतिविधिले त्यहाँ कयौँ नेताहरूलाई पाखा लगाउने काम भएको आरोप लगाएका छन्।
त्यहाँस्थित पार्टीका स्थायी समिति सदस्य खगराज भट्टलाई प्रदेश दलको नेता र इन्चार्ज दुवैबाट पदच्युत गरिएकोमा पनि उनले आपत्ति प्रकट गरेका छन्।
‘अझ गम्भीर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्षसमेतको संलग्नतामा गरिएका गतिविधिहरूका आधारमा दर्जनभन्दा बढी कमरेडहरूलाई बवास्ता गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको छ’, शर्माले भनेका छन्, ‘उक्त प्रदेशमा बिना मगरलाई सह-इन्चार्ज बनाउनुले सेती-महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैँमा गम्भीर छ।’
शर्माले खगराज भट्टराई सबै जिम्मेवारीबाट मुक्त गरेर राजनीतिक रुपमै विस्थापित गर्ने खेल भइरहेको पनि बताएका छन्।
‘खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु’, उनले भनेका छन्, ‘मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रुपमा लिएको छु। तर यसभित्रको अन्तर्निहीत उद्देश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेका एजेन्डाहरू, छलफल र हलले पदाधिकारीसमेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्ता गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौँला भन्दै टारिएको अवस्था जगजाहेर छ।’
ती कुराप्रति सकरात्मक रहेकालाई जिम्मेवारीविहीन बनाउनुले नेतृत्वको मनसाय स्पष्ट भएको पनि उनले बताएका छन्।
‘उक्त विधान अधिवेशनमा मैले मौखिक रुपमा त्यस सम्बन्धमा राखेको कुराप्रति व्यवास्था गरेकाले मैले पार्टीको विधि विधानभित्र रहेर आफ्नो मत राख्न खोज्दा अधिवेशनमासमेत बोल्ने अनुमति नदिएको स्मरण गराउँदै कार्य विभाजनमा आइपुग्दा त्यही आग्रहबाट निर्देशित भएको स्पस्ट हुन्छ’, उनले भनेका छन्।
जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था कर्यान्वयन गर्ने कुरा गर्दा अध्यक्ष दाहाल र सम्पूर्ण तहमा लागू गर्ने हो होइन भन्ने प्रश्न उठ्ने पनि उनले बताएका छन्।
‘विधानको व्यवस्थाअनुसार पार्टी पंक्तिमा आफ्नो मत राख्न पाउने अधिकारको उपयोग गर्दै लिखित असहमति पत्र यस बैठकमा प्रस्तुत गरेको छु’, उनले भनेका छन्, ‘पार्टी निर्माणप्रति प्रतिबद्ध रहँदै सरकार र संसद्का कामसमेतमा सकारात्मक भूमिका निर्वाह गर्ने जिम्मेवारीप्रति स्पस्ट रहेको छु।’
खगराजले भने : राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य
प्रचण्डको पेलानमा परेका अर्का नेता खगराज भट्टले बुधबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै आफ्नो लिखित असहमति पत्र बुझाएका छन् ।
बुधबार नै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ ।’
गत साउनमा उनीबाट प्रदेश इन्चार्ज र माघमा सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताको जिम्मेवारी पनि खोसिएको थियो । भट्ट सुदूरपश्चिममा प्रभावशाली नेतामध्ये पर्छन्। उनी जनयुद्धताकाबाटै माओवादीमा संलग्न थिए।
पेरिसडाँडा बैठकबाट अब माओवादी केन्द्र सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी गिरिराजमणि पोखरेल र सह–इन्चार्जको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई दिइएको छ।
प्रदेशका सबै भूमिकाबाट जिम्मेवारीविहीन बनाइएका भट्टले स्थायी समितिको निर्णयबाट ३४ वर्षको राजनैतिक र संगठनात्मक जीवनलाई समाप्त पार्ने डिजाइन भएको बताएका छन्।
यस निर्णयको प्रतिवाद गर्दै आगामी दिनमा सुदूरपश्चिमका नेता, कार्यकर्ता र जनसमुदायको सल्लाह बमोजिम अगाडि बढ्ने उनले लेखेको पत्रमा उल्लेख छ।

