काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्ष विहीन भएको छ । मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो।
सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो। वार्ता पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगि विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए। उनले आफूहरुको आन्दोलन जारी रहने बताए।
उनले आफूहरुको माग फर्जि लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत रहेको बताए। त्यस्तै साहुहरुको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनको भनाई छ।
त्यस्तै अदालती प्रक्रियालाई स्थगित गर्नुपर्ने र अदालतबाट फैसला भइसकेका केसहरु आयोगमा झिकाइ पुनरावलोकन गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनले बताए।