काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिन्छु भनी ठगी गरेको आरोमिा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका ७ घर भई हाल काठमाडौंको चन्डोल बस्ने वर्ष ३० को रेशम गुरुङ र गंगा गुरुङ रहेका छन्।
उनीहरुले सुरेन्द्र गिरीलाई वैदेशिक रोजगारीको लागि न्युजिल्यान्ड पठाईदिन्छु, त्यसको लागि १३ लाख रुपैयाँ लाग्छ, न्युजिल्यान्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिन्छु, मासिक १ लाख ५० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको आरोप छ।
पीडितबाट पटक पटक गरी १२ लाख ७० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन १३ गते चन्डोलबाट पक्राउ गरेको हो।
उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
यस्तै, कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंको टोखा नगरपालिका–९ बस्ने वर्ष ३५ की रोशनी राणा पक्राउ परेकी छन्।
उनले विनोद चौरेललाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु, त्यसको लागि २ लाख ७० हजार रुपैयाँ लाग्छ, कतार पुगेपछि प्रतिष्ठित कम्पनीमा क्लिनरको काम लगाइदिन्छु, मासिक ७० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेकी थिइन्।
पीडितबाट पटक पटक गरी २ लाख ७० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।
प्रहरीले उनलाई बूढानीलकण्ठ–११ फैकाबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।