काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियामा सुरु वाफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
मंगलबार किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा भएको समुह चरणको पहिलो खेलमा सिरियालाई ४–१ को गोल अन्तरले हराउँदै नेपालले च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको हो।
खेलको पहिलो हाफमा ३–१ काले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल थप्यो।
नेपालको जितमा अमिसा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे। एक गोल भने सिरियाले उपहार स्वरुप पायो।
खेलको १० औँ मिनेटमा अमिसाले १८ यार्डबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको हो। १२ औँ मिनेटमा अनिता बस्नेतको कर्नर प्रहार सिधै गोलमा परिणत भएपछि नेपालले २–० ले अग्रता बनाएको हो।
खेलको १९ औँ मिनेटमा अमिसा कार्कीको क्रसमा सावित्रा भण्डारीलेको गोलमा नेपालले ३–० को अग्रता बनाएको छ।
खेलको ४३ औँ मिनेटमा आत्मघाति गोलमा सिरिया ३–१ को अवस्थामा आयो।
सिरियाकी कप्तान नुर मोस्तफाको फ्रिकीक प्रहार जोगाउन गोललाइनबाट अघि बढेकी गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले गल्ती गर्दा डिफेन्डर गिता रानालाई लाग्दै बलले पोष्टको गति लिदै गोलमा परिणत हुन पुग्यो।
पहिलो हाफमा तुलनामा दोस्रो हाफको सुरुवातमा केही कमजोर प्रर्दशन गरेको नेपालले अन्तिम समयतिर भने आक्रमण बुनेको थियो।
६९ औँ मिनेटमा सावित्रा भण्डारीको क्रसमा रेखा पौडेलले गोल गरिन्।

