काठमाडौं । भारतमा किसान आन्दोलन चर्किँदै गएको छ । किसानहरुले आज भारत बन्दको घोषणा गर्नुका साथै लाखौंको संख्यामा दिल्ली प्रस्थान गरिरहेका छन् ।
किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनले आज अर्थात् शुक्रबार भारत बन्दको घोषणा गरेका छन्।
संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानअन्तर्गत उक्त बन्द घोषणा गरिएको हो।
यस बन्दमा सहभागी हुन दिल्लीतर्फ लागेका पञ्जाबका केही किसानहरूलाई हरियाणामा अम्बाला नजिकै रोकियो। उनीहरुलाई रोक्न सुरक्षाकर्मीले ड्रोनबाट अश्रुग्यास प्रहार गरेका थिए।
बीबीसीका अनुसार भारत बन्दलाई मध्यनजर गर्दै राजधानी दिल्लीलगायत धेरै राज्यमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। दिल्ली पुलिसका अनुसार प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्नको लागि पूर्ण व्यवस्था गरिएको छ।
किसानको अर्को संगठन संयुक्त किसान मोर्चा (गैरराजनीतिक) ले पनि भारत बन्दमा सहभागी हुन जनतालाई अपिल गरेको छ।






