बागलुङबजार, दीपेन्द्र परियार ।
बढ्दो महङ्गी, अनियमितता, ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागि बागलुङ जिल्ला दौडाहामा रहेको अखिल नेपाल युवक सङ्घको मोटरसाइकिल र्याली गल्कोटको रिष्मी पुगेको छ ।
युवक सङ्घले आफ्नो त्रिचालिसौँ स्थापना दिवसको अवसरमा आम नागरिकलाई सचेत बनाउने उद्देश्यसहित बागलुङका सबै पालिकामा मोटर साइकिल र्याली गरेको हो ।
र्यालीमा ५० भन्दा बढी मोटरसाइकिलमा सय जना युवा सहभागी छन ।
२०८० माघ २६ गते शुक्रवार बिहान काठेखोला गाउँपालिकाको तङ्ग्रामबाट मध्यपहाडी लोकमार्ग हुँदै हिँडेको टोलीले गल्कोटको दुदिलाभाटीमा कोणसभा सम्पन्न गरेको थियो । उक्त कोणसभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरिश्वर पाण्डेले सम्बोधन गर्नुभएको थियो ।
दुदिलाभाटीबाट प्रस्थान गरेको टोलीले गल्कोटको नरेठाँटीमा कोणसभा गरेको थियो । सो स्थानको कोणसभालाई युवक सङ्घका केन्द्रीय सदस्य कमल पौडेलले सम्बोधन गर्नुभएको थियो ।
नरेठाँटीबाट हटियातर्फ प्रस्थान गरेको टोलीले गल्कोटको हटियाबजारमा कोणसभा गरेको थियो । उक्त सभालाई युवक सङ्घका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डेले सम्बोधन गर्नुभयो ।
हटियाबजार परिक्रमापश्चात् ताराखोलातर्फ प्रस्थान गरेको टोलीले घुस्मेलीमा कोणसभा सम्पन्न गरेको छ । सभालाई सङ्घका महासचिव भीमसेन वनले सम्बोधन गर्नुभएको थियो ।
ताराखोलाबाट पुन: हटियातर्फ प्रस्थान गरेको टोलीले गल्कोटको हरिचौरमा कोणसभा सम्पन्न गरेको थियो । उक्त सभालाई युवक सङ्घका पूर्व अध्यक्ष तथा राजमो बागलुङका अध्यक्ष तिलक थापाले सम्बोधन गर्नुभयो ।
हरिचौरबाट मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ लागेको टोली बासखोलामा कोणसभा सम्पन्न गरेको थियो । उक्त स्थानको सभालाई राजमो बागलुङका सचिव भीमलाल पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
शुक्रबार साँझ युवाहरूको उक्त टोली गल्कोटको रिस्ष्मीमा बास बसेको थियो ।
आज शनिवार टोलीले बडिगाड गाँउपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा पुग्ने युवक सङ्घ बागलुङका अध्यक्ष वीरेन्द्र थापाले बताउनुभयो ।

