• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रतिशोध (कथा)


  •   शनिबार, माघ २७, २०८० मा प्रकाशित
  • कल्पना पौडेल जिज्ञासु ##

    Advertisement

    आँटहिम्मतको प्रतिबिम्ब थिइन् मीना । उनी निम्नवर्गीय परिवारमा जन्मिएकी हुन् । कान्छो भाइ गर्भमा हुँदा परदेश लागेका उनका बाउको कुनै खबर थिएन । बाउको अनुपस्थिति, सामाजिक मनोवृत्तिमा त खजमजिएको थियो नै, झन् उनीहरूको गाँसमा अनिगिन्ती उद्घोष बनेर टाँसिएको थियो ।

    घरकी जेठी छोरी मीनाका दुई बहिनीपछि जन्मिएको भाइ पनि चार कक्षामा पढ्ने भइसकेको थियो । सामान्य लेखपढसम्म गर्न पाएकी मीनाले भाइबहिनीलाई बाउको माया दिएकी थिइन् साथै बाउको कर्तव्य पनि निभाइरहेकी थिइन् ।

    केही पाखो बारी थियो । त्यसको उब्जनीले उनीहरूलाई छाक टार्न पुग्ने कुरै थिएन । आमाले मेलापात गरेर पाएको ज्यालाखाजाले र मीनाले दु:ख गरेर पालेका बाख्रापाठाले उनीहरूको जेनतेन प्राण धानिएको थियो ।

    मेलामा दिएका अर्नी पनि पोल्टामा हालेर ल्याउँथिन् आमा । भाइबहिनी त्यही अर्नीको बाटो हेरेर प्रतीक्षा गरिरहेका हुन्थे । मीना त छरछिमेकका तिखा वचनले अघाउँथिन् प्राय: । झन् त्यसमाथि कहिलकाहिँ बाख्रापाठाले फुकेर चौरासी व्यञ्जन नै पुर्‍याइदिन्थे । मन कटक्क काटिए पनि पाठापाठीमाथि जाइलागेर र किच्च हाँसेर सबै पचाइदिन्थिन् मीना ।

    गाउँमा अन्याय–अत्याचारका विरुद्ध त्यति बेला भन्ने गरिएको महान् जनयुद्धमा होमिएका थिए रे मीनाका बाउ । संसार परिवर्तन आफैबाट गर्नुपर्छ भन्थे रे ¤ आमाका कथन धेरै सुन्थिन् मीना । संसार परिवर्तन गर्न आफैँ परिवर्तित भएर हिँडेका र हिँडाइएकाहरू कोही केमा परिवर्तन भए, कोही केमा परिवर्तन भए, लेखाजोखा छैन । सामाजिक बेथिति उखेलेर समाज बदल्न हिँडेका मानिस कतिपय माटोमा बदलिए, कतिपय आधा जीवन भोगिरहेका छन् । कोही सहर पसेर नवधनाड्यमा बदलिए । कोही आफू जेका विरुद्ध भनेर ज्यान हत्केलामा राखेर निस्किएका थिए, त्यही बनेर बदलिए । यसकै एउटा बुँद मीनाका बाबु परदेशी बनेर बदलिए ।

    मीनाको सिङ्गो परिवार गरिबी र पीडाको दलदलमा बदलियो । गाउँका शोषक र सामन्तका विरुद्ध बोलेर समाज बदलिएन बरु तिनै शोषक र सामन्तहरू मीनाको परिवार अनि ती अवोध लालाबालाको शत्रु भएर बदलिएका रहेछन् । मीनाका जेठाबाउले ऋण धनको जालो देखाएर भएको एकखलो खेतको स्वामित्व नै बदलिदिए ।

    समय बदलिन्छ । समयसँगै संसार बदलिन्छ । मीनाको शरीर पनि बदलिँदै गयो । सानी मीना ठुली भइन् । सम्म छाती चुचुरे थुम्का बने । परिवारमा सबैका पेट बढे । आवश्यकता बढे । निराशा बढे तर हरेक समस्याको समाधान गर्ने उपाय बढेन, झन् घटेर पो गर्‍यो । हरेक अप्ठ्यारामा मीनाको मन चसक्क घोच्थ्यो– ‘कमसेकम बाउ घरमा भएका भए ¤’

    मीनाले बाबुको बारेमा बुझ्न आफ्नो हर कोसिस प्रयोगमा ल्याइन् । हरेक साँझ घरबाहिरको पदचाप सुनेर हत्तपत्त बाहिर निस्कने आमाको बेचैनी, सानो भाइको प्रश्नै प्रश्नका डङ्गुर, घरको अभाव, बन्दी बनाएर राख्नुपरेका आफ्नै रहर र चाहना यावत् कुराले मीनालाई चिमोटिरहन्थे । पिँढीमा बसेर पर क्षितिजसम्म नियालिरहेकी आमाका नजर घामका पाइला सँगै झन् लामो छाया बने बहकिन्थे । आमाका शुष्क ओठ र भिजेका परेली सधैँ एकनासका देखिन्थे ।

    ० ० ०

    एकदिन पल्लो गाउँको धनपति र उसको छोराले घर तलको चौतारीमा घाँस बिसाएर बसिरहेकी मीनालाई भेटे । मीनाको लागि नौला मान्छे उनीहरूले चिनजानकै जसरी बोलाएर सोधपुछ गरे । केही बेरको कुराकानी भयो ।

    “ए ! तिमी त आफ्नै मान्छे रहिछ्यौ” धनपतिले निकै माया दर्शाए ।

    धनपतिको छोरो सुरज भने मीनाका शरीर पत्रपत्र पल्टाउँदै घुरेर हेर्दै थियो ।

    “तिम्रो बुबा र म निकै मिल्ने साथी थियौँ नि ¤ तर के गर्नु र खै ? परदेश लागेपछि भेट भएको छैन” धनपति पुन: बोले ।

    “तिम्रो नाम के नि ?” सुरजले सोध्यो ।

    “मीना” मीना यतिमै सीमित भई ।

    “नानी त हलक्क बढिछ्यौ । हामी भारतका विभिन्न सहर घुमिरहेका हुन्छौँ । तिम्रा बाउ भेटिए भने जसरी नि ल्याउँछौँ” धनपतिले दृढता दर्शाए र उनले छोराको कानमा केही मन्त्रणा पारे ।

    सुरजले भन्यो– “मीना फेसबुकमा जोड ल मलाई । हामी गाउँका मान्छेहरू साथी बन्नुपर्छ ।”

    “म त्यस्तो केही चलाउने गर्दिनँ” मीनाले मसिनो स्वरमा भनिन् ।

    “ए ! किन र ? लेकिन आजकालको जमानामा पनि….” ऊ बिचमै रोकियो ।

    “मसँग मोबाइल नै छैन” यति भनेर मीना घाँस बोकेर हिँडी । धनपतिका बाउछोरा गुनगुन गर्न थाले ।

    “ए ! नानी सुन त” धनपतिले आवाज अलि ठुलो बनायो ।

    “लेकिन, धनपति काका भेट भएको कुरा आमालाई भन्दिनू । तिमीले पहिचान नगरे पनि मेरो तारिफ तिम्रो आमालाई सबै मालुम छ ।”

    बेलुका आमाले मीनालाई टोकौँला झैँ गरेर गाली गरिन् । मीनाले केही बुझिनन् । धनपतिको नाम सुनेदेखि आमाको नुर झन् उदासियो ।

    सुत्ने बेलामा आमाले आक्रोस पोख्दै धनपतिको कथा भनिन्– “त्यो गतिलो मान्छे होइन ठुली । मलाई लाग्छ, तेरा बाबु परदेश जानु, घर नफर्किनुमा पनि यसकै जाल छ । यो एक नम्बरको फटाहा थियो गाउँमा । पापी मन भएको । तेरा बाबु अन्याय–अत्याचार सहन नसक्ने । पल्लो गाउँमा पिपलबोटेकी बुहारी ताकेको हुनाले पुलिसले समातेको थियो । यता गाउँमा पनि माओवादीको निशानामा परेको थियो । एउटा पुलिस हात लिएछ र रातारात जहान छोराछोरी लिएर भागेको उति बेला । पछि गाउँमा चलेको युद्ध रोकिएपछि राजनीतिक दाउपेच मिलाएर फर्कियो । ठुला ठुला नेतासँग उठबस छ रे यसको र त यसका पुराना अपराध लुकाएर हिँड्छ ।”

    आमाले मीनालाई सबै कुरा गरिन् र उनीहरूको नजिक नपर्न पनि सुझाइन् ।

    एक दिन एउटा नौलो केटो घरमा आयो र थचक्क आँगनको डिलमा बस्यो । मीनाकी आमाले बोकेको गाग्री भुँइमा राखेर यो नौलो केटातिर हेरिन् ।

    “मीनाको घर यही होइन ?” केटो प्रश्न गर्‍यो ।

    “हो ।”

    “मीना खोई त ?”

    “तल बेसीमा धान काट्न मेला गएकी छे ।”

    “ए ! ल त आमा मीनालाई सुरज आएको थियो भन्दिनू । यो झोला मीनालाई दिनू” आमाले अरू कुरा गर्न नपाउँदै पिँढीमा झोला राखेर केटो झरिहाल्यो ।

    एक जोर कुर्तासुरुवाल, एउटा मोबाइल र केही पैसा रहेछ झोलामा । बेलुका आमाको अगाडि नै मीनाले झोलाबाट निकाली । भाइबहिनी निदाइसकेका थिए ।

    आमाले मीनालाई शङ्कालु पाराले हेर्दै सम्झाइन्– “हेर छोरी, छोराछोरी बढेपछि पो बढी पिर हुने रहेछ । मलाई त कताकता तिम्रो टाउकोमाथि कालो छाया मडारिएको जस्तो लाग्दै छ ।”

    अघिपछि ठुलो ठुलो बोलीले गाली गर्ने आमाले आज मीनालाई अनौठो तरिकाले बोझिलो स्वर गरेर भनिन् र सुइयँ सुस्केरा हालिन् ।

    ० ० ०

    समय बित्दै गयो । मीना र सुरज फेसबुकका माध्यमबाट निकै नजिक भए । उनीहरू अबेर रातसम्म च्याटिङमा भुल्थे । मीना र सुरजको सम्बन्धले हद पार गरिसकेको थियो । उमेरले भरिलो बैँसमा प्रवेश गर्नै लागेकी मीनालाई सुरज सपनाको एउटा राजकुमार भएर उपस्थित भइदियो । मीनाको स्वभाव परिवर्तन हुँदै गयो ।

    आमाले लख काटिन् । मीनाको आँखामा अब सुरजको चित्रले स्थायी बसोबास गर्‍यो । मीनालाई संसार एकातिर र सुरज एकातिर जस्तो लाग्यो । नयाँ कपडा ल्याएको देखेर आमाले बेस्सरी झपारिन् मीनालाई । त्यस दिन मीना भातै नखाई सुती ।

    सुतेर आफ्ना भएभरका कुरा सुरजलाई बताई । सुरजले आफूभन्दा बढी मीनालाई माया गर्छु भनेर विश्वास दिलायो र छिटोभन्दा छिटो बिहे गर्ने योजना सुनायो ।

    पाकेको फल बेलैमा नटिपे झरेर जान्छ नत्र चराले ठुङ्छ भन्ने कुरा धनपतिको छत्रछायामा भारतका गल्ली गल्ली नापेर हिँडेको सुरजलाई थाहा नहुने कुरै भएन । उमेरले भर्खर २१/२२ भए पनि धनपतिको छोरो धनपतिभन्दा एक कदम अगाडि थियो । उसले

    मीनाको मन तरल बनाउन सकेसम बल लगाइरह्यो ।

    यता मीनाले पनि पखेटा हाल्न राजी भइन् ।

    भाले नबास्दै बिस्तारै ढोका खोलेर मीना ओरालो लागिन् । बहिनीका सिरानीमा एउटा चिठी लेखेर छाडेकी थिइन् उनले । ढोका घरक्क गर्दा आमाका आँखा खुले । मीना दिसापिसाब गर्न निस्केकी होली भनेर आमा चुप लागिन् । उज्यालो हुँदा मीनाले भेरीको झोलुङ्गे पुल तरिसकेकी थिइन् ।

    मीनाको मनमा सुरज र उसले देखाएका सपनाबाहेक केही थिएन । सुरजप्रतिको आकर्षकले गर्दा भाइबहिनीको भविष्य, आमाको पीडा अनि बाबुको अभावले सिर्जना गरेका सामाजिक अप्ठ्याराका गगनचुम्बी पहाड सबै बिर्सिइन् मीनाले ।

    मनमा भएको ममता र गाउँको माटो त्यसै भेरीमा नै छाडेर उनी सुर्खेत पुगिन् । बाटोमा जाँदा उनलाई मोबाइलले नै साथीको भूमिका निभायो । बाटोमा धेरैजसो एउटा हातमा झोला बोकेर अर्को हातले मोबाइल कानमा लगाएर सुरजसँग कुराकानी गर्दै हिँडिन् । उनी बाटो हिँड्दै कहाँ पुगियो ? को को भेटिए, केही हेक्का रहेन । प्रत्येक दोबाटोमा उसले सुरजलाई फोन गरिन्– “अब कता जाने ?”

    सुरज मीनालाई लिन हिजै सुर्खेत आएर बसेको थियो । दिनभरको थकाइले चुर मीनाले सुरज भेटिएपछि फूल झैँ हलुङ्गो महसुस गरिन् ।

    गाउँमा जाडो अझै सकिएको थिएन । सुर्खेतमा भने निकै गर्मी रहेछ । कहिल्यै गाउँ छोडेर नहिँडेकी मीनालाई सबै नौलो थियो ।

    मीनालाई आफू बसेको कोठामा लग्यो सुरजले । कोठाभित्र पस्नासाथ मीनालाई बाहुपासमा कस्यो । मेसेन्जरमा जति हद नाघेर कुरा गरे पनि भेटमा मीनालाई यो हर्कत सहज लागेन तर यहाँ अब सुरजबाहेक उनको कोही थिएन ।

    मीनाले आँट गरेरै सुरजलाई पन्छाई र भनिन्– “शिरमा सिन्दुर नभरी यहाँभन्दा अगाडि नबढ्नुहोला ।”

    सुरजले सहमतीसूचक टाउको हल्लायो ।

    “तिमी नुहाएर लुगा फेर । म एकछिन बाहिर निस्किएर आउँछु । ऊ त्यहाँ तिम्रो निम्ति नयाँ कपडा छ झिकेर लगाऊ” यति भनेर सुरज निस्कियो ।

    मीना नुहाउन पसिन् । धारापँधेरामा कसैले देख्ला झैँ कष्टले नुहाउने गरेकी मीनालाई होटलको बाथरुममा नुहाउँदा कल्पनाभन्दा बढी आनन्द आयो । सुरजले बाथरुम प्रयोग गर्ने तरिका, तातो चिसोपानी सबै सिकाएर गएको थियो ।

    आज मीनाको अनुहारमा उन्मुक्त चमक फैलियो । बुट्टेदार काँचको झ्यालबाट अपराह्नतिर पसेको पहेँलो घामको उज्यालोमा उनले आफूलाई निर्वस्त्र नियालिन् । आफ्ना छातीका मातृत्व ग्रन्थि ओल्टाई पल्टाई छामेर हेरिन् । शिरदेखि पाउसम्म नजर डुलाई देखिनेजति हेरिन् । कताकता जिउ सिरिङ्ग भएर आयो । अघि सुरजले अँगालोमा बेरेको सम्झिँदा मनमा मिठास भरिएर आयो । आँखा बन्द गरेर आफ्नै हातले शरीरलाई स्पर्श गरिराखिन् । अपार आनन्दको सागरमा पौडिएको महसुस गरिन् मीनाले । उनी अर्धबेहोसी झैँ कराइन् ।

    आफैँभित्र केही पोखिएको जस्तो लाग्यो । यस्तो अनुभव उनले कहिल्यै गरेकी थिइनन् । बन्द आँखाभित्र सुरज मात्रै आइरह्यो । यस्तो शारीरिक सुखानुभूति उनले आजभन्दा अगाडि महसुस गरेकी थिइनन् ।
    नुहाएपछि ज्यान चङ्गा भयो । लुगा फेरेर खाटमा पल्टिइन् मीना ।

    एकछिनमा सुरज एउटा सानो झोला झुन्ड्याएर आयो र भन्यो– “जाऊँ हिँड अब, म हाम्रो सपना साकार पार्छु । ऊ त्यहाँ पर मन्दिर रहेछ । त्यहाँ गएर सिन्दुर हाल्छु र आजबाट सधैँलाई आफ्नो बनाउँछु ।”

    यति सुन्दा मीनाका आँखा टलपल भए । उमेर कच्चा भए पनि व्यवहारमा थिचिएर यावत् कुरामा पाकेकी थिइन् उनी ।

    नजिकै बसेर ढाड सुम्सुमाउँदै सुरजले फेरि भन्यो– “तिमी चिन्ता नगर । भाइबहिनी र आमाको जिम्मेवारी अब मेरो पनि हो ।”

    मीनाले सुरजलाई गम्लङ्ग अँगालो मारेर ताता आँसुका भल खसालिन् ।

    कुन ठाउँ कताको हो ? केही थाहा भएन मीनालाई । उनले ठुला गाडी र रेल देखेको आजै हो । गाउँमा सुनेकी त थिइन् तर रेल यति लामो र ठुलो हुन्छ भन्ने लागेको थिएन । आज सुरजले मीनालाई हात समातेर यो भीमकाय फलामे वाहनमा चढायो । मीनाका खुसी र सुख स्वर्गसमान बने । मनमुटु मात्रै होइन, हिजोबाट उनले शरीर पनि सुम्पिइन् । त्यागको आनन्द प्राप्तिभन्दा बढी थियो ।

    गाउँमा सुनेका गीत जस्तै महसुस भयो मीनालाई । रेल गाडीका पैँया गुड्न लागेको थियो ।

    रेल अगाडि बढ्दै जाँदा सबै पछाडि छुट्दै गए । सुर्खेतमा भेटेदेखि मुखमा आधा ढाकिने गरी रुमाल बाँधेको सुरजले बल्ल रुमाल फुकाल्यो ।

    ० ० ०

    बम्बै आइपुगेछ । मान्छेको भिड देखेर मीनालाई अचम्म लाग्यो । यति धेरै मान्छे उसले कहिल्यै देखेकी थिइनन् । फरक फरक कद र फरक फरक रङका मान्छेहरू बिथोलिएका कमिलाको गोलो झैँ अस्तव्यस्त देखिन्थे ।

    सुरजले अटो चढाएर लग्यो । मीनालाई बम्बईका बाटाघाटा र सहर हेर्दै रमाइलो लागिरहेको थियो । उनको जीवनको सबैभन्दा नजिक ठानेको मान्छे आफ्नो साथमा हुनाले अरू कुनै चिन्ता थिएन ।

    “नहीं नहीं इतने में नहीं होगा (अँ त्यतिमा त हुँदैन) ।”

    “मैने बहुत तकलिफ किया है । और मेरा पैसा भि बहुत खर्च हुआ है । मैले धेरै दुख गरेको छु । मेरो पैसा पनि धेरै खर्च भएको छ ।”

    “माल बहुत नयां है फर्क पडेगा तो दुगुना वापस करुंगा (सामन नयाँ हो, फरक परेछ भने दुगुना फिर्ता गर्छु) ।”

    “अच्छा है ।”

    “बहुत कुछ होगा ।”

    “अच्छा है ।”

    सुरजले नबुझिने भाषामा कुरा गर्‍यो र शिर उज्यालो बनायो । अटोचालकले घरी घरी मीनालाई हेर्दथ्यो । केही भन्न खोजे जस्तो गथ्र्यो । मीनाले यतातिर ध्यान नै दिइनन् ।

    काला काला परबाट ह्वास्सै गनाउने मान्छेहरू । चुरोटको धुवाँ मिसिएको नमिठो गन्ध आउने साँघुरो गल्ली हुँदै उनीहरू एउटा पुरानो घरभित्र छिरे । पान र गुट्खा खाएर थुकेका घिनलाग्दा भित्ता देखेर मीनाले सुख्खा वाक्क गरिन् र हातेरुमालले मुख छोपिन् । उनीहरू तेस्रो तलाको एउटा कोठामा पुगे । त्यहाँ अस्वाभाविक शृङ्गार पोतेकी मोटी मोटी थसुली आइमाई थिई । त्यो आइमाइले बस्न इसारा गरी । सुरजले मीनाको हात समातेर बसाल्यो र आफू पनि सँगसँगै बस्यो ।

    एकैछिनमा दुईओटी झन्डै अर्धनग्न केटी देखिए । एउटा निकै कालो वर्णकी सेता दाँत र राता ओठ गरेकी थिई । अर्की गोरी तर अलि डल्ली थिई । उनीहरू दुवैले मीनालाई हेरिरहे । अघिकी मोटी आइमाइले बेस्सरी हकारी । उनीहरू दुवै अलप भए । एउटी सानी पातली केटीले दुई कप चिया लिएर आई र गई ।

    “मीना तिमी चिया खाँदै गर, म पिसाब फेरेर आउँछु” यति भनेर सुरज निस्कियो । निकै बेर फर्किएर आएन ।

    अचानक अरू दुई नयाँ केटी आएर एक्कासि नेपालीमा बोल्दै भने– “बेचिइस् केटी तँ पनि हामी जस्तै । यसलाई पनि बिहे गरेर त्यसैले यहाँ ल्याएर बेचेको हो । म चाहिँ आफ्नै फुपूको जालमा परेर यहाँ आएँ । हामी ६ जना नेपाली छौँ, तँसमेत सात भयौँ ।”

    मीना अलमल परिन्, केही बुझिनन् ।

    अब मीनाका लागि दिन र रात सबै एकै भए । हरेक दिन दशौँ जना घिनलाग्दा पुरुषको प्यास बुझाउने जिम्मा दिइएको थियो उनलाई । सुरुवाती दिनमा भारतीय व्यापारी र सहरका धनी मानिस आउने गर्थे । प्रहरीहरू निकै क्रुर भएर जाइलाग्थे । व्यापारीहरू प्राय:जसोले घर फर्कन सहयोग गर्छु भनेर मिठो जाल बनाउँदै लुट्थे । जसले जे भने पनि सबै पानीका फोका झैँ हुन्थे ।

    दिन, हप्ता हुँदै महिना बितेर गयो । मीनाले बाहिर निस्कने मेलो भेट्याइनन् बरु चिलगिद्धको स्वरूप बदलियो । फोहोरी जँड्याहा भुसतिघ्रेहरू आउन थाले । जसको जस्तो स्वरूप भए पनि पशु जस्तै हुन्थे तिनीहरू ।

    बल गरेर त्यहाँबाट भाग्ने सम्भावना थिएन । मीनाले बिस्तारै त्यहाँ भएका दिदीबहिनीसँग सल्लाह गरिन् । बिरामी भएको बहानामा अस्पताल जाने योजना बनाइन् । अरू केटीहरूले पनि साथ दिए । त्यहाँ अस्पताल जान सितिमिति पाउने सम्भावना थिएन । गर्भ निरोधक ओखतीबाहेक अन्य ओखती देख्नसमेत पाइदैनथ्यो ।

    धेरै मिहिनेतपछि मीनाले अस्पताल जाने मौका पाइन् । योजनाअनुसार कोठीवालीका लठैतलाई छक्याएर मीना भाग्न सफल भइन् ।

    ० ० ०

    चौताराभरि मान्छे थिए । गाउँका भद्रभलाद्मी डाकेर कचहरी राखिएको थियो । धनपति र सुरज दुवैलाई एउटै डोरीले बाँधेर जुत्ताको माला लगाइएको थियो । गाउँका केटाहरूले मुक्का हान्दा बाबुछोराकै अनुहारको नापनक्सा बिग्रिएको थियो ।

    बेचिएको झन्डै दुई वर्षपछि नरककुण्ड जस्तो कालकोठरीबाट मीना भाग्न सफल भएकी रहिछन् । उनले बम्बईमा बस्ने सज्जन नेपाली दाजुभाइ भेटेर यता आएकी रहिछन् र योजनाअनुसार सुटुक्क गाउँ आएर दुवै बाउछोरालाई समाजको अगाडि नाङ्गेझार पार्न सफल भइन् ।

    धनपति र सुरजका परिवारलाई त्यहाँ बोलाएर मीनाले गाउँलेका अगाडि आफ्ना कुरा राखिन् । मीनाकी आमाले मीना हिँडेपछि गाउँलेका लाञ्छना सहन नसकेर आत्महत्या गरिछन् । आफ्नो कर्तुत थाहा पाएको र पोल खुल्ने डरले धनपतिले सुर्खेत जाँदा भेरीमा हालेर मीनाका बाबुलाई मारिदिएको रहेछ ।

    सबै सुनिरहँदा त्यहाँ उपस्थित कसैको पनि आँखा ओभानो थिएन । चौतारामा बसेको गाउँले कचहरीले दुवै अपराधीलाई प्रहरीको जिम्मा लगाउने निर्णय गर्‍यो ।

    आज गाउँमा सामाजिक काम गरेर चेतना फैलाउँदै छिन् मीना । मीनाका भाइबहिनीको निम्ति मातापिता दुवैको जिम्मेवारी बोकेर बसेकी छिन् मीना ।

    (खजुरा, बाँके)

    शनिबार, माघ २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.