काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बयान लिएको छ। सिंहदरबारस्थित कार्यालयमा आयोगले बिहीबार महरासँग बयान लिएको हो ।
भेपमा भएको सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले बिहीबार दिउँसो महरालाई पनि बोलाएर बयान कागज गराएको आयोगका संयोजक डिल्लीराम आचार्यले बताए ।
आयोगले विद ल्याबका सञ्चालक भिमकान्त भण्डारीसँग पनि बयान लिएको छ । यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीएसपी रुगम कुँवरसँग पनि बिहीबार नै आयोगले परामर्श गरेको संयोजक आचार्यले बताए।
आयोगले भेपमा भएको सुन तस्करी, ६१ किलो सुन तस्करी लगायतका प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
भेपमा भएको ९ किलो सुन प्रकरणमा महराका छोरा राहुल महरा पुर्पक्षका लागि कारागारमा छन्। प्रहरीले सुरुमा उनलाई जोगाउँदै प्रतिवेदन बुझाएको भएपनि चौतर्फी विरोधपछि पुरक अनुसन्धान गर्दै राहुललाई पक्राउ गरेको थियो।