काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सीजी ग्रुपका निर्देशक एवम् व्यापारी अरुण चौधरीसहित ३ जना रिहा भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतको आदेशले हिरासतमुक्त गरिएको हो ।
सीजी ग्रुपका निर्देशक, बाँसबारी छालाजुत्ता उद्योगको जग्गामा चौधरी ग्रुपले खोलेको चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई प्रहरीले छाडेको हो ।
उनीहरू तीनैजनालाई खोजेको बेला उपस्थित हुने शर्तमा रिहा गरिएको सीआईबीका एक अधिकारीले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा उनीहरूलाई सीआईबीले पक्राउ गरेको थियो।
व्यवसायी चौधरी, ठाकुर र थापालाई सीआईबीले गत बिहीबार पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि अदालतले पहिलोपटक चार दिनको म्याद दिएको थियो।
तर यो अवधिमा अनुसन्धान नसकिएको भन्दै सीआईबीले सोमबार थप म्याद मागेको थियो। तर अदालतले दुई दिनभन्दा बढी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको हो।